काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। निर्वाचन समितिका नवनियुक्त संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचनको औपचारिक कार्यक्रम सार्वजनिक गरेसँगै सुरक्षा निकायले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाएको हो।
निर्वाचन कार्यक्रमको घोषणा भएलगत्तै प्रहरीले महाधिवेशन स्थलमा सुरक्षा रणनीति परिवर्तन गरेको छ। सुरक्षाकर्मीहरूले भृकुटीमण्डप परिसरमा ‘माइकिङ’ गर्दै महाधिवेशन प्रतिनिधिबाहेकका अन्य व्यक्तिहरूलाई तत्काल बाहिर जान निर्देशन दिएका छन्। अनावश्यक भिडभाड नियन्त्रण गर्न र निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण बनाउन यस्तो कदम चालिएको प्रहरीले जनाएको छ।

अहिले महाधिवेशन प्रतिनिधिहरूलाई मात्रै बन्दसत्र सञ्चालन भइरहेको मुख्य हलभित्र प्रवेश गराइएको छ भने अन्य नेता तथा कार्यकर्ताहरूलाई बन्दसत्र स्थलबाट टाढा पठाइएको छ।
बन्दसत्र स्थल बाहिरको सम्भावित झडप वा तनावलाई मध्यनजर गर्दै ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ।






