राजविराज — पूर्व उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित आफ्नै निवासमा बिहान ११ बजे उनको आकस्मिक निधन भएको हो ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं थारु मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका चौधरी केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री थिए । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको गठबन्धनबाट निर्वाचित भएका थिए ।

पार्टीका केन्द्रीय उपमहासचिव गजेन्द्र मण्डलका अनुसार चौधरी केही समयदेखि सामान्य अस्वस्थ भए पनि शनिबार बिहान अचानक ढलेका थिए । उनको निधनले मधेसको राजनीति र थारु आन्दोलनमा अपूरणीय क्षति पुगेको मण्डलले बताए ।

चौधरीका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर