एसपी यादव/सर्लाही, पुस २२ गते । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति सर्लाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायलाई पहिलो नम्बरमा उम्मेदवार सिफारिस गरेको छ ।

प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष रायलाई पार्टीले प्रत्यक्ष उम्मेदवारका रूपमा पहिलो नम्बरमा  टिकट सिफारिस गरेसँगै जिल्लाको राजनीतिक वातावरण तरंगीत बनेको छ ।

अध्यक्ष राय पार्टीको स्थापना कालदेखि नै प्रचारप्रसार, संगठन निर्माण तथा पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै हाल प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्षका रूपमा सक्रिय रहेका छन् ।

पुस २० गते बसेको कार्य समितिको बैठकले जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार, क्षेत्र नम्बर ३ बाट क्रमशः मनोज कुमार यादव राय, रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पि. यादव) र विनोद यादवको नाम सिफारिस गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव, क्षेत्र नम्बर २ बाट भरत चौधरी र क्षेत्र नम्बर ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा नाम सिफारिस गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष रणधिर कुमार यादवद्वारा हस्ताक्षरित पत्रमार्फत उम्मेदवारहरुको नामावली सिफारिस गरि केन्द्रमा पठाइएको जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।

जसपा नेपालले “संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद” को मूल नारासहित आगामी निर्वाचनका लागि संगठनात्मक तयारीलाई तीव्र बनाउँदै लगेकाे छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर