सर्लाही,१९ पुस। सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालुको शनिबार विभत्स हत्या भएको छ। ईश्वरपुर–२ राइटरखोरका ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको हो।
घटनाको विवरण अनुसार, महतो शनिबार बिहान ५ बजेतिर वनमा रुख काटेको आवाज सुनेपछि साइकल लिएर घरबाट निस्किएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनका ज्वाइँ वीरबहादुर सिंहले घरबाट करिब ५ सय मिटर टाढा परियोजनाको १० नम्बर प्लट नजिकैको झाडीमा टाउको नभएको शव भेटाएका थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार घटनास्थलमा रगत लतपतिएको बञ्चरो फेला परेको छ र सोही हतियार प्रयोग गरी टाउको छिनालिएको हुनसक्ने अनुमान गरिएको छ। शव फेला परे पनि टाउको भने फेला परेको छैन। हत्याराले टाउको नजिकैको पोखरीमा फालेको आशंकामा प्रहरीले जाल हालेर खोजी कार्य जारी राखेको छ।
अनुसन्धानका लागि धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरहरू झिकाएर घटनास्थलको सुक्ष्म अध्ययन भइरहेको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा गाउँकै केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको भए पनि उनीहरूको परिचय खुलाइएको छैन।
सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले कर्तव्य पालनाका सिलसिलामा वन रक्षकको यस्तो निर्मम हत्या हुनु अत्यन्तै दुखद रहेको बताएका छन्। यस घटनापछि स्थानीयबासी त्रसित बनेका छन्। प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी गरेको छ।






