फायल तस्वीर ।

राजविराज,१९ पुस । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थापनको तयारी गर्दै गृह मन्त्रालयले निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्ने मापदण्ड स्वीकृतिको अन्तिम चरणमा पुर्‍याएको छ। शुक्रबार गृह मन्त्रालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूबीच भएको बैठकले भर्ना र परिचालन सम्बन्धी मापदण्ड तय गरेको हो।

यसपटक गृह मन्त्रालयले नेपाल प्रहरीका लागि १ लाख ३४ हजार र सशस्त्र प्रहरीका लागि १५ हजार गरी कुल १ लाख ४९ हजार निर्वाचन प्रहरी भर्ना गर्ने अनुमति दिने भएको छ। यसअघि नेपाल प्रहरीले १ लाख ३७ हजार ६४४ र सशस्त्र प्रहरीले १६ हजार जनशक्ति माग गरे पनि गृहले केही संख्या घटाएर भर्ना प्रक्रिया अघि बढाउन लागेको हो। अर्थ मन्त्रालयले यसका लागि आवश्यक बजेटको स्रोत सुनिश्चित गरिसकेको छ।

प्रक्रिया अनुसार शनिबार दुवै सुरक्षा निकायले आफ्नो प्रस्ताव गृहमा बुझाउनेछन् र गृहसचिवले स्वीकृत गरेपछि आइतबारदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत भर्ना प्रक्रिया सुरु हुनेछ। छनोट भएका निर्वाचन प्रहरीले १० दिनको तालिम पाउनेछन् र उनीहरूलाई एक महिनाका लागि निर्वाचन सुरक्षामा खटाइने छ। उनीहरूको पारिश्रमिक र सुविधा नेपाल प्रहरीको जवान सरह हुनेछ, जसमा रासन, पोसाक र बिमाको समेत व्यवस्था गरिएको छ। भर्ना प्रक्रियामा पूर्व सुरक्षाकर्मी र विगतका निर्वाचनमा खटिएका अनुभवी म्यादी प्रहरीलाई प्राथमिकता दिइने गृह मन्त्रालयले जनाएको छ।

यसपटक मतदानस्थलको संख्या बढेर १० हजार ९६७ पुगेकाले सुरक्षाकर्मीको संख्या पनि थप गरिएको हो। कुल मतदानस्थलमध्ये ३ हजार ५ सय स्थललाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ। विशेषगरी यसपटक सशस्त्र प्रहरीले पहिलो पटक आफ्नै मातहतमा निर्वाचन प्रहरी भर्ना गरेर परिचालन गर्दैछ, जसले मोबाइल गस्ती र स्ट्राइकिङ टोलीको क्षमता बढाउने लक्ष्य राखेको छ। नेपाल प्रहरीले पनि एआईजी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा विशेष निर्वाचन सेल गठन गरेर आफ्नो तयारीलाई तीव्र बनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर