राजविराज, १८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली पठाउन पार्टीका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिएको छ। पार्टी विधानको धारा ११७ उपधारा ३ मा उल्लेख भएअनुसार उम्मेदवारका लागि तोकिएको मापदण्ड र योग्यता पूरा गरेका व्यक्तिहरूको नाम छनोट गरी केन्द्रमा पठाउन भनिएको हो।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रत्येक प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरूको नामावली संकलन गरेर सात दिनभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन परिपत्र गरिएको छ। उम्मेदवारका लागि सिफारिस गरिएका व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि र उनीहरूले पार्टीमा पुर्याएको योगदानको विवरण पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। तल्लो तहबाट आएका नामावलीहरूमाथि छलफल गरेपछि पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा रहेको संघीय संसदीय बोर्डले उम्मेदवारहरूको अन्तिम टुंगो लगाउनेछ।







