सुनसरी,७ पुस । सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको ज्यान गएपछि सीमा क्षेत्र तनावग्रस्त बनेको छ। घटनापछि आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी)लाई घेराबन्दी गर्दै ढुंगामुढा गरेका छन्।

सीमावर्ती क्षेत्रमा रहेको बिओपी चारैतिरबाट आक्रमणमा परेपछि स्थिति नियन्त्रण बाहिर जान थालेको हो। तनाव बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयमता अपनाउन आग्रह गर्दै भीडलाई तितरबितर पार्न बल प्रयोग गर्नुपरेको जनाइएको छ। स्थानीय प्रशासनले पनि पीडित पक्षलाई वार्ताको बाटो रोज्न आग्रह गरेको छ।

बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहलाई लागेको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। साह भारतबाट सामान ल्याएर स्थानीय बजारमा बिक्री गर्दै आएका थिए। सशस्त्र प्रहरीका अनुसार तस्करको समूहसँग भएको झडपका क्रममा गोली लागेर उनको मृत्यु भएको हो।

घटनापछि सुरु भएको प्रदर्शन उग्र बन्दै गएपछि लौकही क्षेत्रको अवस्था अझै तनावपूर्ण रहेको छ। सीमा क्षेत्रबाट हुने आवतजावत पूर्ण रूपमा रोकिएको छ भने पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड पनि अवरुद्ध भएको छ। सवारी साधनहरूलाई चतरातर्फ डाइभर्ट गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर