एमबीबीएस पूर्ण छात्रवृत्तिमा सफलता पाउने मधेशी दलित विद्यार्थीलाई प्रदेश सरकारको सम्मान

जनकपुरधाम,१६ पुस । चिकित्सा शिक्षामा दुर्लभ मानिने पूर्ण निःशुल्क छात्रवृत्तिमा एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका मधेशी दलित समुदायका विद्यार्थीलाई मधेश प्रदेश सरकारले औपचारिक रूपमा सम्मान गर्ने तयारी गरेको छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन गरिएको शैक्षिक सत्र २०८२ को एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

शिक्षा तथा संस्कृति मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्मान कार्यक्रममा सहभागी हुन चाहने योग्य विद्यार्थीहरूले मन्त्रालयमा निवेदन दिनुपर्नेछ। मन्त्रालयले पुष १८ गते शुक्रबार कार्यालय समयभित्र जनकपुरधामस्थित शिक्षा तथा संस्कृति मन्त्रालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्न अनुरोध गरेको छ।

सूचनामा उल्लेख भएअनुसार निवेदनसँगै विद्यार्थीले सम्पर्क नम्बर खुलेको निवेदन पत्र, शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, मधेशी दलित समुदायको प्रमाणपत्र, बैंकको नाम र खाता नम्बर, सम्बन्धित स्थानीय तहको सिफारिस तथा एमबीबीएस पूर्ण छात्रवृत्तिमा नाम प्रकाशित भएको आधिकारिक प्रमाण संलग्न गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार यो सम्मान कार्यक्रम मधेश प्रदेशका दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षातर्फ आकर्षित र उत्प्रेरित गर्ने दीर्घकालीन लक्ष्यसहित अघि बढाइएको हो। चिकित्सा शिक्षा जस्तो महँगो, कठिन र प्रतिस्पर्धात्मक क्षेत्रमा पूर्ण छात्रवृत्तिमा सफलता हासिल गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत भएको मन्त्रालयले जनाएको छ।

शिक्षा तथा संस्कृति मन्त्रालयका अधिकारीहरूले यस्ता कार्यक्रमले मधेशी दलित समुदायका अन्य विद्यार्थीहरूलाई पनि एमबीबीएससहित चिकित्सा शिक्षा र उच्च शिक्षाका क्षेत्रमा अघि बढ्न हौसला मिल्ने विश्वास व्यक्त गरेका छन्। सम्मान कार्यक्रमको मिति, स्थान र स्वरूप भने निवेदन संकलनको प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने मन्त्रालयले जानकारी दिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर