राजविराज,१६ पुस । धनुषामा अनलाइन माध्यम प्रयोग गरेर ठगी गर्दै आएको एक समूहको गतिविधि प्रहरी अनुसन्धानपछि सतहमा आएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले नक्कली वालेट आइडी बनाएर सर्वसाधारणबाट रकम असुल्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
धनुषा प्रहरीका अनुसार पक्राउ परेकाहरूले विदेशबाट आफन्तले पठाएको पैसा लिन गाउँ–घरबाट आईएमई केन्द्र आउने महिलालाई निशाना बनाउने गरेका थिए। रकम झिक्न आएका महिलालाई प्रक्रियाको बहानामा नागरिकता र फोटो लिएर उनीहरूकै नाममा वालेट एकाउन्ट खोल्ने र त्यसलाई ठगीका लागि प्रयोग गर्ने गरिएको खुलेको छ।

पक्राउ पर्ने मुख्य अभियुक्तमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ घर भई हाल धनुषाधाम नगरपालिका–९ धारापानी चोकमा ‘मामा भान्जा ट्रेडर्स आईएमई’ सञ्चालन गर्दै आएका विशाल भुजेल रहेका छन्। उनीसँगै धनुषाधाम–९ का ३७ वर्षीय सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का २५ वर्षीय साधुराम, सोही स्थानका २० वर्षीय रुपेश कुमार साह र १९ वर्षीय निक्की कुमार राम तथा जनकपुरधामको शिवचोक क्षेत्रमा डेरा गरी बस्दै आएका २२ वर्षीय बलराम मण्डल पक्राउ परेका हुन्।
प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरका अनुसार पक्राउ परेका अधिकांश व्यक्ति राम्रा कलेजमा अध्ययनरत विद्यार्थी तथा आईटी क्षेत्रमा राम्रो ज्ञान राख्ने युवा हुन्। उनीहरूले सोही सीपलाई दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत अनलाइन सामान बिक्रीको विज्ञापन गर्ने, ग्राहकलाई १ हजार ६ सयदेखि १० हजार रुपैयाँसम्म वालेटमा जम्मा गर्न लगाउने तर सामान नपठाउने गरेको पाइएको छ।
सामान नआएको भन्दै सर्वसाधारणबाट उजुरी पर्न थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा विभिन्न व्यक्तिको नाममा खोलिएका वालेट आइडीमार्फत ठूलो रकम कारोबार भएको देखिएपछि अभियुक्तहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमका अनुसार अभियुक्तको साथबाट १९ थान विभिन्न कम्पनीका मोबाइल, ४ वटा ल्यापटप ट्याब, एप्पल कम्पनीको १ थान आईप्याड, ठगीमा प्रयोग भएका २० थान सिम कार्ड, सिम कार्डका ५५ वटा कभर तथा ३ वटा इन्टरनेट राउटर बरामद गरिएको छ।
प्रहरी अनुसन्धानले हालसम्म ती वालेट आइडीमार्फत करिब ३९ लाख २० हजार ६५ रुपैयाँ बराबरको कारोबार भएको देखाएको छ भने २९ जनाको वालेटमा रहेको करिब ४ लाख रुपैयाँ रोक्का गरिएको छ।
प्रहरीले अनलाइन कारोबार गर्दा अत्यधिक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गिरोहविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ।







