राजविराज,१६ पुस । भारतको विहारका विभिन्न स्थानमा भौंतारिरहेका मधेश प्रदेशका सात जना बालबालिका तथा एक महिलाका लागि पछिल्ला केही दिन डर, अनिश्चितता र पीडाले भरिएका थिए। राम्रो काम, सजिलो आम्दानी र उज्यालो भविष्यको सपना देखाइ उनीहरूलाई घर–परिवारबाट टाढा लगिएको थियो। तर त्यो सपना छिट्टै दुःस्वप्नमा बदलियो।
भिख माग्न बाध्य पारिएको, श्रम शोषणमा लगाइएको र कतिपयलाई अन्यत्र लैजाने तयारी भइरहेको अवस्थामा उनीहरूलाई फेला पारियो। बालक र बालिकाका आँखामा डर थियो, महिलाको अनुहारमा असहायपन। भाषा फरक, ठाउँ अपरिचित र आफ्ना कोही नभएको अवस्थामा उनीहरूका दिनहरू गन्तीमा बितिरहेका थिए।

दिल्लीस्थित ‘किन इन्डिया’ नामक संस्थाको अगुवाइमा भारतीय प्रहरी र नेपाली दूतावासको समन्वयमा अन्ततः उद्धार प्रक्रिया अघि बढ्यो। विहार र दिल्लीका विभिन्न स्थानबाट उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइयो। लामो र थकाउने यात्रापछि आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुखको कार्यालयमा उनीहरू आफ्नै आफन्तको जिम्मा लगाइए।
उद्धार गरिएकामा सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १६ वर्षीय मो. अजिज मिया छन्, जसलाई कामको आश्वासन दिई भारत लगिएको थियो। सप्तरीकै सम्भुनाथ नगरपालिका–९ की १५ वर्षीया ज्योती कुमारी मुखिया, रौतहट चन्द्रपुर–२ का १४ वर्षीय निमेष माझी, धनुषा केल्पुर–१ का १४ वर्षीय विष्णु सदा र १० वर्षीय सुरज सदा, सप्तरी मनराजा–५ का ११ वर्षीय बचन कुमार सदा तथा बाराको कलैया–१४ की ३३ वर्षीया संगीता कुमारी जयसवाल पनि त्यही प्रलोभनको सिकार बने।
‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार यसअघि पनि सयौँ बालबालिका र महिलालाई यस्तै अवस्थाबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। उनका शब्दमा, “प्रलोभन देखाएर भारत लगिने र श्रम शोषण तथा बेचबिखनमा पर्नेहरूको संख्या मधेश प्रदेशबाट नै सबैभन्दा बढी देखिन्छ।”
उद्धार कार्यमा किन इन्डियासँगै शुभ अवसर ग्राम नेपाल, आवर संसार, रोटरी क्लब अफ पाटन दरबार स्क्वायर र रोटरी क्लब अफ बानेश्वरलगायत संस्थाहरूले निरन्तर साथ दिँदै आएका छन्। किन इन्डियाकी ग्लोबल ब्रान्ड एम्बेसेडर कल्पना महर्जनले यस किसिमको सहकार्यले मात्र यस्ता पीडितलाई सुरक्षित घर फर्काउन सम्भव भएको बताइन्।
आज आफन्तको काखमा फर्किँदा उनीहरूका अनुहारमा राहत झल्किन्थ्यो। तर यो कथा केवल सात जनाको उद्धारमै सीमित छैन। यो मधेशका धेरै घर–परिवारमा दोहोरिइरहने पीडाको कथा हो, जहाँ गरिबी, अशिक्षा र अवसरको अभावले मानिसलाई सजिलै प्रलोभनको जालमा फसाइदिन्छ। फर्किएका अनुहारले आशा त दिएका छन्, तर यस्ता घटना नदोहोरिऊन् भन्ने चुनौती अझै बाँकी छ।






