राजविराज, १६ पुस । नेपाल तामाङ घेदुङका संघीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज भीमबहादुर घिसिङले कुलदेवताको प्रसादका रूपमा टीका–खदा ग्रहण गरी पाँच दिनसम्म ल्होछार मनाउन आग्रह गरेका छन्।

नेपाल तामाङ घेदुङ सप्तरीद्वारा सञ्चालित दोस्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा सांस्कृतिक अभियानअन्तर्गत बुधबार सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ चौफालमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले ल्होछारको धार्मिक तथा सांस्कृतिक महत्वबारे चर्चा गरेका हुन्।

घिसिङले ल्होछारको अघिल्लो दिन औँसीको साँझ चोखो निधो गरी पुरानो वर्षलाई विदा गर्दै घरमूलीले कुवेर पूजा गर्ने परम्परा रहेको उल्लेख गरे। उक्त पूजाले वर्षभरि आर्जित धनको संरक्षण हुने धार्मिक विश्वास रहेको उनले बताए। तिथि अनुसार माघशुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार पर्ने भएकाले बिहान घरघरमा शान्तिको झण्डा फहराई कुलदेवताको पूजा गरी घरमूलीको हातबाट अक्षता र खदा ग्रहण गर्दै टीका प्रारम्भ गर्नुपर्ने उनको भनाइ थियो।

पाँच दिनसम्म माइती–मामली गई टीका–खदा ग्रहण गरी आशिर्वाद लिँदा वर्षभरि घरपरिवारमा सुख, शान्ति र समृद्धि हुने धार्मिक विश्वास रहेको घिसिङले बताए। धार्मिक विधिअनुसार ल्होछार मनाउँदा सद्बुद्धि पलाउने, आर्थिक सबलता बढ्ने र तामाङ धर्म–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन हुने विश्वास पनि उनले व्यक्त गरे।

अभियानलाई उदाहरणीय बताउँदै घिसिङले यसबाट प्रेरणा लिएर सबै जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाल तामाङ युवा घेदुङ सप्तरीका अध्यक्ष नवराज योन्जनले तामाङ समुदायको अधिकार सुनिश्चितताका लागि एकजुट हुनुपर्ने बताए। आशिष प्रेस विटेरियन चर्च चौफालका एल्डर भीम राईले अभियानले तामाङ धर्म र संस्कृतिको जगेर्नामा सहयोग पुग्ने बताए।

नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङको सहजीकरणमा सम्पन्न कार्यक्रममा अग्नीसाइर कृष्णासवरन गाउँपालिका–२ की वडाध्यक्ष सरस्वती गोलेले स्वागत मन्तव्य दिएकी थिइन् भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले ल्होछारको महत्व र अभियानको उद्देश्यबारे प्रकाश पारे।

नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश तथा जिल्ला स्तरका घेदुङ प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र राष्ट्रिय तथा स्थानीय तामाङ कलाकारहरूको सहभागिता रहेको थियो।

नेपाल तामाङ घेदुङ सप्तरीका अनुसार अभियानअन्तर्गत ल्होछार पर्वको महत्व, आवश्यकता र सामाजिक मूल्यबारे विचार आदानप्रदान तथा गीत–संगीतमार्फत जनजागरण गराइँदै आएको छ। २८६२ औँ सोनाम (ता) ल्होछार यस वर्ष माघ ५ गते परेको छ।

पुस ८ गते फत्तेपुरस्थित साङ छोइलिङ गुम्बाबाट सुरु भएको अभियान विभिन्न स्थानीय तह हुँदै पुस २१ गते सप्तरी सदरमुकाम राजविराजमा पुगेर समापन गरिने आयोजकले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर