राजविराज, १६ पुस । सप्तरीको कञ्चनरुप नगरपालिका–५ प्रिप्रापूर्वमा सञ्चालन भइरहेको १६औँ पचशील्ड फुटबल प्रतियोगिता अन्तर्गत ‘युनिटी एफसी विरेन्द्र बजार’ फाइनलमा प्रवेश गरेको छ।
स्थानीय खेलमैदानमा बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा युनिटी एफसीले बाबा बजरंगी युवा फुटबल क्लब बेङ्गरीलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त तय गरेको हो।

कडा प्रतिस्पर्धाबीच सम्पन्न खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन। दोस्रो हाफको सातौँ मिनेटमा युनिटी एफसीका जर्सी नम्बर १० का भीम तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले नै खेलको २१औँ मिनेटमा अर्को गोल थप्दै युनिटी एफसीको जित सुनिश्चित गरे।
खेलको ‘म्यान अफ द म्याच’ बाबा बजरंगी युवा फुटबल क्लब बेङ्गरीका सुमित तामाङ घोषित भए। उनलाई ट्रफी प्रदान गरिएको थियो।
आयोजकका अनुसार पुस २२ गते हुने फाइनल खेल युनिटी एफसी विरेन्द्र बजार र भगनी मलेट फुटबल क्लबबीच हुने छ। प्रमुख रेफ्री अजयकुमार चौधरीले उक्त जानकारी दिएका हुन्।
प्रतियोगिताका विजेता टोलीलाई नगद २५ हजार र उपविजेता टोलीलाई १५ हजार रुपैयाँसहित शिल्ड, कप र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।






