काठमाडौँ । इरानी मुद्रा ‘रियाल’ को ऐतिहासिक गिरावट र आकाशिएको महँगीका विरुद्ध सुरु भएको जनआक्रोशले अहिले इरानका प्रमुख सहरहरूलाई चपेटामा पारेको छ। लगातार तेस्रो दिन पनि राजधानी तेहरानसहित देशका विभिन्न भागमा प्रदर्शन र हड्ताल जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सुरुमा व्यापारिक विवाद जस्तो लाग्ने यो विरोधमा मुख्य रूपमा व्यापारीहरू मात्र सामेल भएका थिए । तर, अब यसले व्यापक आर्थिक असन्तुष्टिको रूप लिइसकेको बताइएको छ । यसमा व्यापारीहरूबाहेक विश्वविद्यालयका विद्यार्थीहरू पनि सहभागी भएका छन् ।

आन्दोलन आइतबार तेहरानको ऐतिहासिक ग्रान्ड बजारबाट सुरु भएको थियो, जब व्यापारीहरूले हड्ताल सुरु गरेका थिए । उनीहरूको रिस खुला बजारमा इरानी रियाल अमेरिकी डलरसँगको तुलनामा रेकर्ड तल्लो स्तरमा पुगेपछि भड्किएको थियो । त्यसपछि स्थिति तीव्र रूपमा बिग्रियो र आन्दोलनले धेरै सहरहरूलाई आफ्नो कब्जामा लिएको छ ।
सामाजिक सञ्जालमा आएका भिडियोहरूमा कराज, हेमेदान, केश्म, मलार्ड, इस्फहान, केरमानशाह, शिराज र याज्द जस्ता सहरहरूमा प्रदर्शन देखिएका छन् । धेरै स्थानहरूमा प्रहरीले भीड तितर–बितर गर्न अश्रु ग्यास प्रयोग गरेको देखिएको छ, जसले स्थिति झन् बिगारेको छ ।
PSF
यसैबीच इरानी सरकारले प्रदर्शनहरूको स्थिति बुझेको र उग्र नाराहरूका बाबजुद धैर्यका साथ प्रदर्शनकारीहरूको कुरा सुन्ने प्रयास जारी राखेको भनेको छ । राष्ट्रपति मसुद पेजेशकियनले सोमबार राति समस्याहरूको जिम्मेवार समाधान निकाल्ने उद्देश्यले गृहमन्त्रीलाई प्रदर्शनकारीहरूका प्रतिनिधिसँग कुराकानी गर्न निर्देशन दिएका थिए ।
त्यसैबीच राष्ट्रपतिले केन्द्रीय बैंकका गभर्नर मोहम्मद रेजा फर्जिनको राजीनामा स्वीकार गर्दै पूर्वअर्थमन्त्री अब्दुलनासिर हेम्मतीलाई नयाँ गभर्नर नियुक्त गरेका छन् ।
विद्यार्थीहरू सडकमा
आन्दोलनको दायरा बढेसँगै विश्वविद्यालयका विद्यार्थीहरू पनि सडकमा उत्रिएका छन् । धेरै स्थानहरूमा विद्यार्थीहरूले सरकारविरोधी नारा लगाएका छन्, जसमा ‘तानाशाहको मृत्यु’ जस्ता कडा नाराहरू पनि समावेश छन् । यी विरोधहरू मुख्य रूपमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइविरुद्ध केन्द्रित रहेका छन् ।
केही प्रदर्शनकारीहरूले सन् १९७९ को इस्लामी क्रान्तिमा सत्ताबाट हटाइएका शाह मोहम्मद रेजा पहलवीका छोराको समर्थनमा पनि नारा लगाएका छन् । ‘शाह जिन्दाबाद’ का नाराहरूले इरान मात्र होइन, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको पनि ध्यान खिचेको बताइएको छ ।
अमेरिकामा निर्वासनमा रहेका रेजा पहलवीले सामाजिक सञ्जालमा प्रदर्शनकारीहरूको समर्थनमा लेख्दै भने, “म तिमीहरूको साथमा छु । जित हाम्रो हुनेछ, किनकि हाम्रो उद्देश्य सही छ र हामी एकजुट छौँ ।” उनले वर्तमान शासन रहुन्जेल इरानको आर्थिक स्थिति झन् खराब हुँदै जाने चेतावनी दिएका छन् ।
अमेरिकाको प्रतिक्रिया
अमेरिकी विदेश विभागको फारसी भाषी सामाजिक सञ्जाल खाताले पनि प्रदर्शनकारीहरूको समर्थन गर्दै अमेरिकाले उनीहरूको साहसको प्रशंसा गरेको र राम्रो भविष्यको माग गर्नेहरूसँग उभिएको बताएको छ ।
इरानको स्थिति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच फ्लोरिडामा भएको कुराकानीका क्रममा पनि छलफलको विषय बनेको थियो । संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले सत्ता परिवर्तनमा सिधा बयान दिन अस्वीकार गरे पनि इरान भारी महँगी र भत्किँदो अर्थतन्त्रसँग जुधिरहेको र त्यहाँका मानिसहरू खुसी नभएको बताएका थिए ।






