काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फ खस आर्य समूहको पहिलो तीन उम्मेदवार चयन प्रजातान्त्रिक विधिबाट गरेको छ, जसअन्तर्गत धार्मिक क्षेत्रको प्रतिनिधित्व गर्दै पुष्पराज पुरुष दोस्रो नम्बरमा अटाएका छन्।
सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा मतदानमार्फत उम्मेदवारको टुंगो लगाइएको हो। मतदानपछि पुष्पराज पुरुषले पार्टीले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै धार्मिक र सांस्कृतिक मुद्दालाई सम्मानपूर्वक अघि सारेको बताएका छन्।

“राप्रपाले विचार, आस्था र संगठनात्मक लोकतन्त्रलाई महत्व दिएको छ भन्ने यो निर्णयले पुष्टि गरेको छ,” पुरुषले भने, “धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणका लागि पार्टीभित्र जिम्मेवारीसहित भूमिका निर्वाह गर्नेछु।”

मतदानको नतिजाअनुसार सर्वाधिक मतसहित मधेस प्रदेश प्रमुख एवं कार्यसम्पादन समिति सदस्य भरत गिरी खस आर्य सूचीको पहिलो नम्बरमा रहेका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रमुख धर्मराज जोशी तेस्रो नम्बरमा चयन भएका छन्।
राप्रपाले समानुपातिक उम्मेदवार छनोटमा खुला प्रतिस्पर्धा र मतदान प्रक्रियालाई प्राथमिकता दिँदै आएको भन्दै पार्टी नेतृत्वले यसले संगठनभित्रको एकता र विश्वासलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।






