विराटनगर। मोरङको केराबारी क्षेत्रमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा प्रहरीलाई हवाई फायरसमेत गर्नुपरेको थियो।
इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले पुस १३ गते राति केराबारी गाउँपालिका–५ मा सवारी साधन चेकजाँच कडा पारेको थियो। सो क्रममा प्र१–०६–००१ झ ०००४ नम्बरको सरकारी एम्बुलेन्स शंकास्पद देखिएपछि रोकिन संकेत दिइएको थियो। तर एम्बुलेन्समा सवार व्यक्तिहरू सवारी छाडेर भाग्न खोजेपछि प्रहरीले हवाई फायर गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

नियन्त्रणपछि एम्बुलेन्सको खानतलासी गर्दा भित्र लुकाएर राखिएका १६ वटा ठूला पोका फेला परेका थिए। ती पोकाको तौल गर्दा कुल ५२१ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरू धनकुटा जिल्लाको शहिदभूमि गाउँपालिका–६ का निश्चल राई र सागुरिगढी गाउँपालिका–२ का खगेन्द्र लिम्बु रहेका छन्। उनीहरू गाँजा तस्करीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
बिरामी बोक्न प्रयोग हुने संवेदनशील सवारी साधन एम्बुलेन्सको दुरुपयोग गरी लागुऔषध ओसारपसार गरिएको घटनालाई गम्भीर अपराधको रूपमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले लागुऔषध तस्करीविरुद्ध निगरानी थप कडा बनाइएको र यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी पनि दिएको छ।






