काठमाडौँ। सरकारले सात जना सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक सात सचिवको सरुवा गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले बैठकपछि उक्त निर्णय सार्वजनिक गरेका हुन्।
निर्णयअनुसार गृह मन्त्रालयको सचिवको जिम्मेवारी राजकुमार श्रेष्ठलाई दिइएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका श्रेष्ठलाई गृह मन्त्रालय पठाइँदा त्यहाँ कार्यरत सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिएको छ।

लोक सेवा आयोगमा कार्यरत सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ। नयाँ सरकार गठन भएको केही दिनमै गृह मन्त्रालयको नेतृत्वमा गोकर्णमणि दुवाडीलाई हटाएर रामेश्वर दंगाललाई जिम्मेवारी दिइएको थियो। तर दंगाल तीन महिनामै सरुवा भएर लोक सेवा आयोग पुगेका छन्।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको पनि सरुवा गरेको छ। पुष्करलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ। सो मन्त्रालयको सचिवको जिम्मेवारी भने राष्ट्रपति कार्यालयमा कार्यरत दीपक काफ्लेलाई दिइएको छ। काफ्ले यसअघि सहसचिव रहँदा पनि श्रम मन्त्रालयमै कार्यरत थिए।
युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी लोकनाथ पौडेललाई दिइएको छ। यसअघि सो मन्त्रालयको सचिव रहेका डा. हरि लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। पौडेल यसअघि उपराष्ट्रपति कार्यालयमा कार्यरत थिए।
सरकारको यो निर्णयलाई नयाँ सरकार गठनपछिको प्रशासनिक पुनर्संयोजनका रूपमा हेरिएको छ। उच्च तहका कर्मचारीको जिम्मेवारी फेरबदलले प्रशासनिक समन्वय सुधार्ने र नीतिगत कार्यान्वयनलाई प्रभावकारी बनाउने सरकारको अपेक्षा रहेको छ।






