सुनसरी,१३ पुस। सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित कबरिस्तान क्षेत्रबाट प्रहरीले लागुऔषध ट्रामाडोल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ २२२० ट्याब्लेट ट्रामाडोल नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार एक व्यक्तिले प्रहरीलाई देख्नासाथ शंकास्पद झोला फालेर फरार भएका थिए। घटनास्थलमा छोडिएको झोलाको खानतलासी गर्दा ठूलो परिमाणमा ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

लागुऔषध ओसारपसारमा संलग्न व्यक्ति अँध्यारो र खुला क्षेत्रको फाइदा उठाउँदै फरार भएको प्रारम्भिक अनुमान गरिएको छ। बरामद ट्रामाडोललाई आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको र यसबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
फरार व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र बनाइएको जनाउँदै प्रहरी प्रशासनले सीमा क्षेत्र हुँदै हुने लागुऔषध कारोबार नियन्त्रणका लागि निगरानी कडा पारिएको बताएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रलाई प्रयोग गरी अवैध लागुऔषध भित्र्याउने प्रयास बढ्दै गएकाले यसप्रकारका गतिविधिविरुद्ध निरन्तर कारबाही जारी रहने प्रहरीको भनाइ छ।






