धरान,१३ पुस । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग एकता नगर्ने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा उनले श्रम संस्कृति पार्टीले ‘मिसावटविहीन राजनीति’ गर्ने धारणा दोहोर्याएका हुन्।
देशमा चुनावी वातावरण तातिँदै जाँदा विभिन्न दल र नेताबीच एकता, सहकार्य र समझदारीका चर्चा चलिरहेका बेला साम्पाङले आफ्नो पार्टी यस किसिमको राजनीतिक समीकरणबाट टाढा रहने बताए। “जसलाई जोसँग मिल्न मन छ, मिल्दा हुन्छ,” भन्दै उनले श्रम संस्कृति पार्टी कसैसँग नजोडिने स्पष्ट सन्देश दिएका छन्। उनका अनुसार पार्टीले विचार र सिद्धान्तमा सम्झौता नगर्ने राजनीति अंगालेको छ।

उनले श्रम संस्कृति पार्टीलाई देशको माटो, ढुंगा र श्रमसँग जोडिएको राजनीतिक धारका रूपमा चित्रण गर्दै स्वदेशी सोच र मौलिकपनमा आधारित राजनीति नै आफ्नो पहिचान भएको बताए। विदेशी प्रभाव वा अवसरवादी गठबन्धनभन्दा पनि जनताको श्रम, स्वाभिमान र स्थानीय यथार्थलाई केन्द्रमा राखेर अघि बढ्ने उनको दाबी छ।
हालै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सहमतिपछि विभिन्न अड्कलबाजी सुरु भइरहेका बेला साम्पाङको यो अभिव्यक्ति आएको हो। उनले कार्यकर्ता तथा शुभेच्छुकलाई एकताको विषयमा भ्रममा नपर्न आग्रह गर्दै श्रम संस्कृति पार्टी आफ्नै बाटोमा दृढतापूर्वक अघि बढ्ने स्पष्ट पारेका छन्।






