राजविराज — मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर अन्तर्गतको सम्पर्क कार्यालय राजविराजबाट २१३ जना प्रहरी जवान दीक्षित भएका छन्।
प्रहरी जवान आधारभूत तालिम (५–०५) औँ समूहअन्तर्गत सञ्चालन गरिएको तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई दीक्षा प्रदान गरिएको हो। २७ माघ २०८२ देखि २३४ दिनसम्म सञ्चालन भएको तालिममा सुरुमा २२५ जना सहभागी रहेकामा १३ जना विभिन्न कारणले तालिम निरन्तरता दिन नसकेको तालिम संयोजक डीएसपी सुनिल दाहालले जानकारी दिए।

उनका अनुसार तालिम पूरा गर्नेहरूमध्ये ११ जना महिला र २०२ जना पुरुष छन्। पाठ्यक्रमअनुसार सञ्चालन गरिएका परीक्षाको नतिजाअनुसार ‘क’ श्रेणीमा १७१ जना र ‘ख’ श्रेणीमा ४२ जना प्रशिक्षार्थी उत्तीर्ण भएका छन्।
दीक्षित प्रहरी जवानलाई तालिम केन्द्रका समादेशक भीम दाहालले शपथ ग्रहण गराएका थिए।
दिक्षान्त समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले दीक्षित प्रहरी जवानहरूले तालिमका क्रममा हासिल गरेका ज्ञान र सीपलाई व्यवहारमा उतारी जनअपेक्षा अनुसार इमान्दार र अनुशासित ढंगले सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे।






