सप्तरी,११ पुस । सप्तरीको अग्नीसाइर कृष्णासरन गाउँपालिका–६, मोहनपुरमा सर्पदंशबाट ज्यान गुमाएकी संगीता राईको परिवारले बीमा क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ प्राप्त गरेको छ। उक्त रकम दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले उपलब्ध गराएको हो।

स्वर्गीय राईले यसअघि कृषि तथा पशुपन्छी बीमाअन्तर्गत भैँसी बीमा गराएकी थिइन्। सोही बीमा योजनाभित्र पशुधनीको स्वतः दुर्घटना बीमा समावेश हुने व्यवस्था रहेकाले उनको मृत्यु पश्चात परिवारले क्षतिपूर्ति पाएको इन्स्योरेन्स कम्पनीले जनाएको छ।

बीमा दाबीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएपछि बिहीवार कम्पनीका अभिकर्ता प्रकाश आचार्यले एक कार्यक्रमबीच मृतक राईका परिवारजनलाई बीमा दाबी फर्छ्यौटको रकम हस्तान्तरण गरेका थिए। सो अवसरमा आचार्यले पशु बीमाले पशुधनको सुरक्षा मात्र होइन, आकस्मिक दुर्घटनामा परेका पशुधनी र उनका परिवारलाई पनि आर्थिक सहयोग पुर्‍याउने बताए।

शोकमा डुबेको परिवारलाई यो सहयोगले केही राहत मिल्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले यस्ता उपयोगी बीमा योजनाबारे स्थानीय सरकारले अझ व्यापक प्रचार–प्रसार र जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उल्लेखनीय छ, गत साउन ७ गते साँझ गोठमा भैँसीलाई घाँस हाल्न गएका बेला संगीता राईलाई विषालु सर्पले टोकेको थियो। गम्भीर अवस्थामा उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्‍याइएको भए पनि सोही दिन साँझ करिब ८ बजे उपचारकै क्रममा उनको निधन भएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर