सप्तरी सदरमुकाम राजविराज शुक्रबार असामान्य शान्त देखियो। विभिन्न हिन्दु संगठनहरूको आह्वानमा गरिएको बन्दका कारण बजार, यातायात र सार्वजनिक सेवा प्रभावित हुँदा शहरको दैनिकी ठप्पजस्तै बन्यो। बिहानैदेखि पसलहरू खुल्न सकेनन् भने राजविराजबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका सार्वजनिक सवारी साधन चल्न सकेनन्। अत्यावश्यक सेवाबाहेक अन्य गतिविधि अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो।


बन्दको कारण सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अभिव्यक्ति बनेको छ। राजविराज नगरपालिका–१ रहमतपुरका अफरोज आलमले भगवान श्रीकृष्णप्रति लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेको आरोपपछि हिन्दु सम्राट सेना, बजरङ्ग दललगायतका संगठनहरू आन्दोलित भएका हुन्। उनीहरूले उक्त अभिव्यक्तिलाई धार्मिक भावनामाथिको आघात भन्दै विरोधस्वरूप बन्दको कार्यक्रम अघि सारेका थिए।

बन्दका कारण बस, माइक्रोबस, टेम्पो र अन्य सार्वजनिक सवारी साधन सडकमा देखिएनन्। निजी सवारी साधनसमेत चलाउन कठिनाइ भएको थियो भने मोटरसाइकलहरू सीमित रूपमा मात्र आवतजावत गरिरहेका थिए। यातायात अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा उपचारका लागि अस्पताल जाने बिरामीहरू समस्यामा परेका थिए। “सामान्य कामका लागि निस्कनै गाह्रो भयो,” एक स्थानीयले बताए।

प्रदर्शनकारीहरू नगरका विभिन्न स्थानमा भेला भई नारा–जुलुसमा उत्रिएका थिए। नेता चौक, गजेन्द्र चौकस्थित हनुमान मन्दिर क्षेत्र, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय आसपास आन्दोलन केन्द्रित रह्यो। केही स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएको थियो। प्रदर्शनका क्रममा धार्मिक आस्थाको सम्मान हुनुपर्ने र दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै चर्का नारा लगाइएका थिए।

हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले सामाजिक सञ्जालमा हिन्दु देवी–देवतामाथि गरिएका टिप्पणीहरू स्वीकार्य नहुने बताए। उनले यस्ता अभिव्यक्तिले समाजमा द्वन्द्व र असहिष्णुता बढाउने खतरा रहेको उल्लेख गर्दै दोषीमाथि कानुनअनुसार कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। धर्म, संस्कृति र आस्थामाथि प्रहार हुने गतिविधिविरुद्ध संगठनहरू एकजुट भएर सडक आन्दोलनमा उत्रिन बाध्य भएको उनको भनाइ छ।

स्थिति तनावपूर्ण बन्न सक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो। सम्भावित अप्रिय घटना रोक्न प्रहरी परिचालन बढाइएको थियो। प्रशासनले सबै पक्षलाई संयम अपनाउन, कानुन हातमा नलिन र समस्या समाधानका लागि कानुनी प्रक्रियामा जान आग्रह गरेको छ।

यस घटनाले सामाजिक सञ्जालमा व्यक्त हुने अभिव्यक्तिको संवेदनशीलतालाई पुनः उजागर गरेको छ। धार्मिक विषयसँग जोडिएका अभिव्यक्तिमा जिम्मेवारी र सावधानी आवश्यक रहेको भन्दै स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूले शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर