राजविराज,१० पुस । सप्तरी सदरमुकाम राजविराजमा बिहीवार हिन्दु सम्राट सेना र बजरङ्ग दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। सामाजिक सञ्जालमार्फत हिन्दु धर्मप्रति आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा स्थानीय अफरोज आलममाथि कारबाहीको माग गर्दै उनीहरूले सडक आन्दोलन गरेका हुन्।
दिउँसो करिब १ बजेदेखि साँझ ५ बजेसम्म राजविराजका विभिन्न चोक र मुख्य सडकमा प्रदर्शन फैलिएको थियो। आन्दोलनकारीहरूले केही स्थानमा टायर बाल्दै आवागमन अवरुद्ध गरेका थिए भने नेता चौक, गजेन्द्र चौकस्थित हनुमान मन्दिर क्षेत्र, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका थिए।

हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासका अनुसार, हिन्दु देवी–देवतामाथि सामाजिक सञ्जालमा गलत र अपमानजनक टिप्पणी भएको भन्दै संगठन आन्दोलनमा उत्रिएको हो। उनले शुक्रबार विभिन्न हिन्दुवादी संघ–संस्थाको आह्वानमा राजविराजमा आम हडताल घोषणा गरिएको जानकारी पनि दिए।
आरोपित आलम राजविराज नगरपालिका–१, रहमतपुरका बासिन्दा रहेको बताइन्छ। श्रीकृष्णप्रति लक्षित गरी सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको दाबी गर्दै बजरङ्ग दल र हिन्दु सम्राट सेनाले सदरमुकाम बन्दको कार्यक्रम अघि सारेका हुन्।
यसैबीच, आन्दोलनकै क्रममा ‘रोहिंग्या भेटिएको’ दाबी गर्दै हिन्दु सम्राट सेनाले ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको घटनाबारे पनि स्पष्टता आएको छ। सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बर बहादुर पुरीका अनुसार ती व्यक्ति रोहिंग्या नभई भारतीय नागरिक हुन् र राजविराज–१२ स्थित करिमा इँटा उद्योगमा काम गर्ने मजदुर थिए। आवश्यक सोधपुछपछि इँटा उद्योगका धनीलाई बोलाएर उनीहरूलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।






