१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पछिल्ला दिनमा सक्रिय राजनीतिक भेटघाट र छलफलमा देखिन थालेका छन्। आफ्नै नेतृत्वमा नयाँ राजनीतिक धार बनाउने तयारीस्वरूप उनले विभिन्न दलका नेतादेखि पत्रकार, जेन–जी अगुवा र कलाकारहरूसम्मसँग संवाद अघि बढाएका छन्।
यसै सिलसिलामा बुधबार राति ललितपुरको कुपण्डोलस्थित एक निजी निवासमा बालेनले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका थिए। छलफल ढिलो रातिसम्म चलेको र आज पनि निरन्तर हुने तयारी रहेको सहभागी स्रोतले जनाएको छ।

उक्त भेटघाटमा राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जी फ्रन्टका प्रतिनिधिसँगै केही सञ्चारकर्मीहरूको उपस्थिति थियो। छलफलमा नागरिक उन्मुक्तिका नेता रेशमलाल चौधरी, मिलन पाण्डे, जेन–जी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल लगायत सहभागी थिए। पत्रकार सुरजसिंह ठकुरी र ऋषि धमलासँग पनि बालेनले राजनीतिक विषयमा संवाद गरेको बताइएको छ।
यसबीच, कांग्रेस नेता चन्द्र भण्डारीले बालेनसँग भेटघाट गरेको चर्चा सामाजिक सञ्जालमा आए पनि भण्डारीले भने आफूले प्रत्यक्ष भेट नगरेको स्पष्ट पारेका छन्।
नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले भने बालेनसँगको छलफलमा सहभागी भएको स्वीकार गर्दै नयाँ राजनीतिक शक्तिहरूलाई एकताबद्ध गरेर अघि बढ्ने प्रस्ताव आएको बताए। उनका अनुसार पुराना दलको विकल्प खोज्ने उद्देश्यसहित प्रारम्भिक छलफल भएको र यसलाई निरन्तरता दिने समझदारी बनेको छ।
आफ्नै नेतृत्वमा दल बनाउने संकेत
छलफलमा सहभागीहरूका भनाइ अनुसार बालेन कुनै दलको नेतृत्व स्वीकार्नु भन्दा आफ्नै नेतृत्वमा राजनीतिक यात्रा अघि बढाउने मनस्थितिमा देखिन्छन्। ‘देश विकास पार्टी’को नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्ने संकेत उनले दिएका छन्। उक्त पार्टी हाल सन्ध्या खनालको अध्यक्षतामा रहेको छ, जसको चुनाव चिह्न लौरो नै हो—त्यही चिह्नबाट बालेनले मेयरको चुनाव जितेका थिए।
यसअघि सोमबार रास्वपा सभापति रवि लामिछानेसँग कमलपोखरीमा भएको छलफलले दुबै एउटै राजनीतिक प्लेटफर्ममा आउने अनुमान गरिए पनि पछिल्ला भेटघाटले बालेन आफ्नै बाटो रोज्न इच्छुक देखिएको बुझिन्छ। कुपण्डोलको छलफलमा उनले अरूको नेतृत्वमा नजाने संकेत गरेको सहभागी नेताहरूको भनाइ छ।
चुनावी रणनीति र समीकरण
बुधबारको छलफलमा बालेनले आफू पार्टी राजनीतिमा प्रवेश गरिसकेको र आगामी दिनमा सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। बहुमत कसरी ल्याउने र चुनावी समीकरण कसरी मिलाउने भन्ने विषयमा पनि प्रारम्भिक संवाद भएको स्रोतले जनाएको छ।
यसै क्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा बालेनले झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए। उक्त क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ। धमलाका अनुसार बालेनले प्रत्यक्ष र समानुपातिक चुनावबारे जिज्ञासा राख्दै आगामी दिनमा थप छलफल गर्ने सहमति गरेका छन्।
समग्रमा, बालेन साहको पछिल्लो सक्रियताले आगामी निर्वाचन र नयाँ राजनीतिक गठजोडतर्फ संकेत गरिरहेको देखिन्छ।






