फत्तेपुर, १० पुस । सप्तकोसी नगरपालिका–१ स्थित फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बुधबार फत्तेपुरमा आयोजित साधारण सभा संस्थाको भावी दिशा र वित्तीय अवस्थाबारे समीक्षा गर्ने अवसरका रूपमा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष पारस दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व खेलकुद मन्त्री सत्यनारायण मण्डल प्रमुख अतिथिका रूपमा सहभागी थिए। साधारण सभामा अध्यक्ष दाहालले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै संस्थाको कारोबार ४४ करोड ५९ लाख १८ हजार २ सय ८८ रुपैयाँ पुगेको जानकारी गराए। त्यस्तै, संस्थाको व्यवस्थापकीय प्रतिवेदन व्यवस्थापक दयाराम भट्टराईले सभामा प्रस्तुत गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मण्डलले सहकारी क्षेत्रमा देखिएका बेथिति र राजनीतिक हस्तक्षेपबारे कडा टिप्पणी गरे। उनले सहकारीको रकम दुरुपयोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै उच्च अदालतबाट रिहाइ हुनु कानुनी रूपमा गलत भएको दाबी गरे। साथै, वर्तमान सरकार संविधानको मर्मविपरीत बनेको आरोप लगाउँदै यसले देशलाई गलत दिशातर्फ लैजाने चेतावनी दिए।

साधारण सभाका अवसरमा संस्थामा योगदान पुर्‍याउने तथा उपलब्धि हासिल गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट शेयर सदस्यका रूपमा प्रेम राईलाई सम्मान गरियो भने २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका शेयर सदस्यका सन्तान रोहन महत, सबिना श्रेष्ठ र सेबिना खड्कालाई पनि विशेष सम्मान प्रदान गरियो।

कार्यक्रममा त्रियुगा सहकारीका पूर्व अध्यक्ष शम्भुबहादुर राउत, वडा अध्यक्ष रोहिणी पोखरेल, सप्तकोसी नगरपालिकाका निवर्तमान मेयर उत्तम गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको भूमिका अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर