राजविराज, ०९ पुस । तराईमा चिसोको मात्रा अचानक बढेसँगै सप्तरीको दैनिकी ठप्पजस्तै बनेको छ। हावासँगै फैलिएको शीतलहरले जनजीवन मात्र होइन, शिक्षा र स्वास्थ्य सेवा समेत प्रभावित बनाएको हो।

चिसोको असर बढ्दै गएपछि बोदेबरसाईन नगरपालिकाले सामुदायिक विद्यालयहरूमा अस्थायी विदा घोषणा गरेको छ। नगरपालिकाभरिका सबै सामुदायिक विद्यालय बुधबारदेखि पाँच दिनका लागि बन्द गरिएको नगर प्रमुख आतेशकुमार सिंहले जानकारी दिए। उनका अनुसार अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न कठिनाइ भइरहेको र स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले पुस १३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

पछिल्ला केही दिनदेखि तराई क्षेत्रमा शीतलहर तीव्र बन्दै गएको छ। विशेषगरी सप्तरीमा चिसो हावासँगै तापक्रम एकाएक घटेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। चिसो बढेपछि रुघाखोकी, निमोनियाँ र श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या पनि बढ्दै गएको छ।

स्थानीयवासीले चिसोबाट जोगिन आगो ताप्ने, न्यानो कपडा प्रयोग गर्ने जस्ता उपाय अपनाइरहेका छन् भने स्वास्थ्यकर्मीहरूले बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर