राजविराज, २९ मंसिर । सप्तरी जिल्लामा अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
कुटपिट, लुटपाट, वन पैदावर चोरी–निकासी तथा झुटो नागरिकता प्रमाणपत्रसम्बन्धी मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका उनीहरूलाई विशेष अभियानमार्फत नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अवैध साल काठ चिरान तथा चोरी–निकासी मुद्दामा रुपनी गाउँपालिका–६ का राजन तामाङ पक्राउ परेका छन्।
यस्तै, कुटपिट मुद्दामा जरिवाना सजाय पाएका डाक्नेश्वरी नगरपालिका–७ का गजेन्द्र मरिक, शिविन्द मरिक, गुरिया देवी मरिक र भरत यादव पनि प्रहरी नियन्त्रणमा आएका छन्।
प्रहरीका अनुसार कुटपिट तथा लुटपाट मुद्दामा महादेवा गाउँपालिका–१ का सुरेन भन्ने सुरेन्द्र यादव र बिरेन भन्ने बिरेन्द्र यादव पक्राउ परेका छन्।
त्यसैगरी, लुटपाट मुद्दामा साविक लोहजरा गाविस–९ का किरण राज मिश्र, शेखर राज मिश्र, निलम राज मिश्र, शान्ति देवी मिश्र र प्रकाश राज मिश्रलाई पनि नियन्त्रणमा लिइएको छ।
यसैबीच, झुटो नेपाली नागरिकता प्रमाणपत्रसम्बन्धी मुद्दामा राजविराज नगरपालिका–१६ का रिषिनारायण देवसहित अन्य प्रतिवादीसमेत गरी जम्मा १३ जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए।
उनका अनुसार जिल्ला अदालत राजविराजबाट फैसला भई जरिवाना तोकिए पनि फरार सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरिएको छ।
पक्राउ परेका प्रतिवादीहरूबाट कुल ९ लाख ९ हजार २ सय ९५ रुपैयाँ जरिवाना असुली हुने गरी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सप्तरी प्रहरीले फरार प्रतिवादी नियन्त्रण अभियानलाई तीव्र बनाएपछि पछिल्लो समय फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर