काठमाडौँ । नेपाल सरकारले लामो समयदेखि अन्योलमा रहेको भारतीय रुपैयाँ २०० र ५०० दरका नोटको प्रयोगलाई औपचारिक रूपमा खुला गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बरपछि भारतमा निष्कासन गरिएका यी दरका नोटहरू नेपाल ल्याउन र भारत लैजान अनुमति दिने निर्णय गरेको हो।

नयाँ निर्णयअनुसार नेपाल र भारत दुवै देशका नागरिकले प्रतिव्यक्ति अधिकतम भारु २५ हजारसम्म २०० र ५०० दरका नोट आवतजावत गर्न सक्नेछन्। यसले सीमा क्षेत्रमा हुने दैनिक कारोबार, व्यापारिक गतिविधि र पर्यटक आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

भारत सरकारले २०१६ मा उच्च दरका नोटमाथि प्रतिबन्ध लगाएपछि नेपालमा भारु १०० बाहेकका नोट प्रयोग गर्न नपाइने अवस्था सिर्जना भएको थियो। त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका बासिन्दा, साना व्यापारी र भारतमा रोजगारीमा रहेका नेपालीहरूमा परेको थियो। दैनिक लेनदेनदेखि बैंकिङ कारोबारसम्म समस्या देखिँदै आएको थियो।

खुला सीमाका कारण नेपाली बजारमा भारतीय रुपैयाँको उल्लेखनीय प्रयोग हुँदै आएको छ। यही यथार्थलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले लामो समयदेखि २०० र ५०० दरका नोटलाई वैध बनाउन सरकारसँग पहल गर्दै आएको थियो।

सरकारको पछिल्लो निर्णयसँगै सीमा क्षेत्रको नगद अभाव कम हुने, व्यापारिक कारोबार सहज हुने र नेपाल–भारतबीचको आर्थिक सम्बन्ध थप गतिशील हुने विश्वास गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर