काठमाडौं : नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत पुस १ गते मतदान हुने गरी निर्वाचन तालिका सार्वजनिक भएपछि अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूह आफ्नो पदाधिकारीको नाम टुंगो लगाएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली पुनः उम्मेदवार बन्ने निश्चित देखिएको छ । ओली समूहमा महासचिवका लागि शंकर पोखरेल दोहोरिने लगभग पक्का भएको छ ।

उपाध्यक्षतर्फ ओली समूहले प्रदीप ज्ञवाली, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङलाई अगाडि बढाउने लगभग सहमति जुटाइसकेको छ ।

उपमहासचिव पदका लागि विष्णु रिमाल, भानुभक्त ढकाल र रघुवीर महासेठको नाम अगाडि बढेको छ । सचिवतर्फ संख्या ९ पुर्‍याइएपछि क्षेत्रीय सन्तुलन मिलाउँदै शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाममा सहमति जुटेको बताइएको छ ।

यता ईश्वर पोखरेल समूहले पनि पदाधिकारीको प्यानल लगभग तय गरिसकेको छ । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ ।

उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि समावेश छ । सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको छ । सचिवमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि करिब टुंगो लागेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर