राजविराज — सप्तरीको आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा थप उद्योग स्थापना, उद्योगी–व्यवसायीको आकर्षण तथा संरक्षण–प्रवर्द्धनका लागि मधेश प्रदेश सरकारले सम्भव भएसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा आयोजित ३९औँ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले औद्योगिक क्षेत्रको व्यवस्थित विकासका लागि प्रदेश सरकार सकारात्मक रहेको स्पष्ट पारे। उनले सप्तरीको विकास, आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनामा यस औद्योगिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक योजना सहित अघि बढ्न आग्रह गरे।

“औद्योगिक क्षेत्रलाई प्रभावकारी बनाउन र उद्योगी–व्यवसायीको आकर्षण बढाउन व्यवस्थापन पक्षले दीर्घकालीन मास्टर प्लान तयार पारेर ल्याए प्रदेश सरकारले साधन–स्रोतले भ्याएसम्म सहयोग गर्नेछ,” अर्थमन्त्री यादवले भने।
उनले प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि औद्योगिक क्षेत्रको स्तरोन्नतिमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। संघीय सरकारको ध्यान नपुग्दा मधेश प्रदेशको एकमात्र औद्योगिक क्षेत्र ओझेलमा परेको उनको गुनासो थियो। वैदेशिक रोजगारीमा जाने युवाको संख्या र रेमिट्यान्स योगदानका हिसाबले मधेश अगाडि रहे पनि बजेट विनियोजनमा विभेद हुनु दुःखद भएको उनले बताए। यस विषयमा संघीय सरकारका अर्थ तथा उद्योग मन्त्रीसँग समेत ध्यानाकर्षण गराइसकेको उनले सुनाए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड राजविराजका निमित्त कार्यालय प्रमुख मनिषकुमार मिश्रले पर्याप्त बजेट, सुरक्षा, पूर्वाधार तथा उद्योगमैत्री वातावरणको अभावले औद्योगिक क्षेत्रको सञ्चालनमा समस्या भइरहेको बताए। उनले औद्योगिक क्षेत्रको विकासका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
उनका अनुसार हाल औद्योगिक क्षेत्रभित्र १२ वटा मझौला उद्योग दर्ता छन्, जसमध्ये दुध डेरी, खाद्यान्न, पोलिमर्स, प्लास्टिक, पेपर कप र पानी उद्योगसहित ७ वटा उद्योग मात्र पूर्ण रूपमा सञ्चालनमा छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव, उद्योगी रमेशकुमार यादव र मिलन सिंह, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जसपा नेपाल सप्तरीका उपाध्यक्ष लक्ष्मण यादव, घरेलु तथा साना उद्योग कार्यालय सप्तरीकी प्रमुख रेखाकुमारी यादव, जनमत पार्टीका जिल्ला इन्चार्ज रामगमन साह, नेकपा केन्द्रीय सदस्य सूर्यनाथ यादव लगायतले औद्योगिक क्षेत्रभित्र देखिएका समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
उक्त औद्योगिक क्षेत्रको स्थापना २०४४ साल मङ्सिर २७ गते नेपाल र भारत सरकारको सहयोगमा भएको थियो। २०६२ सालमा यसको नाम परिवर्तन गरी गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र राखिएको हो। हाल यसको कुल क्षेत्रफल २२ विगहा १ कठ्ठा रहेको छ।






