राजविराज, २७ मंसिर। सप्तरीको कञ्चनरूप नगरपालिका–११ स्थित बक्साहा टोलमा सुरुङभित्र माटो खन्ने क्रममा च्यापिएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ।
स्थानीयका अनुसार घर लिप्नका लागि माटो लिन गएका कञ्चनरूप नगरपालिका–११ बक्साहा टोल निवासी अन्दाजी ५५ वर्षीय दिलिप रेग्मी सुरुङभित्र माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा च्यापिएका थिए। घटनापछि चिच्याएको आवाज सुनेर स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय ठेलियालाई जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठेलिया, कञ्चनपुर तथा सशस्त्र प्रहरी बल सितापुरबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले कोदालो प्रयोग गरी सुरुङ खनी रेग्मीको उद्धार गरी धर्मेश्वर अस्पताल ठेलिया, सप्तरीमा उपचारका लागि पठाएको जनाएको छ।
अस्पताल स्रोतका अनुसार उद्धार गरिएका रेग्मीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







