तस्वीर पत्रकार बृजमान तामाडले खिचेका हुन ।

राजविराज, २६ मंसिर । अग्नीसाइर युवा क्लब सितापुर कलौनीले अग्नीसाइर–कृष्णासवरन गाउँपालिका–२ इटहर्वा सितापुरमा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सुरुआत गरेको छ। वडा कार्यालयको समन्वयमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै गरे।

आयोजक समितिका अध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा सुरु भएको उद्घाटन खेलमा राजजी युवा क्लब हरकट्टी मोहनपुरले युनिटी एफसी विरेन्द्र बजारलाई शून्य–दुई गोलले पराजित गर्दै अंक जोडेको छ। खेलको सातौँ मिनेटमा मोहनपुरका रघु चौधरीले पहिले गोल गरे। दोस्रो हाफको उन्नाइसौँ मिनेटमा पृतम चौधरीले अर्को गोल थपेपछि मोहनपुरको अग्रता दुईमा पुगेको थियो। निर्धारित समयमा विरेन्द्र बजारले गोल फर्काउन नसक्दा खेल मोहनपुरकै जीतमा सकिएको आयोजक पक्षले जनाएको छ।

उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, जिल्ला फुटबल संघका प्रतिनिधि सिताराम चौधरी, सुरक्षा निकायका अधिकारी तथा स्थानीय सामाजिक–राजनीतिक क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रमको संचालन प्रविण कुमार चौधरीले गरेका थिए।

प्रतियोगितामा यसपटक आठ टिम सहभागी भएका छन्। युनिटी एफसी विरेन्द्र बजार, राजजी युवा क्लब हरकट्टी मोहनपुर, आयोजक अग्नीसाइर युवा क्लब सितापुर कलौनी, सामुदायिक युवा क्लब मुसहरनिया, नेपाल पुलिस क्लब राजविराज, कठौना युवा क्लब कठौना, कुशहा एफसी कुशहा र महुली एफसी महुली टिम खेलिरहेका छन्।

विजेता टिमलाई रु २५ हजार पाँच सय र उपविजेतालाई रु १५ हजार पाँच सयसहित शिल्ड, कप, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिता तय गरिएको तालिकाअनुसार निरन्तर रूपमा सञ्चालन हुँदै जानेछ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर