राजविराज — राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति, सप्तरीले शुक्रबारदेखि रिले अनशन सुरू गरेको छ।
गजेन्द्रचोकमा सुरु भएको अनशनको पहिलो दिन स्थानीय जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक दलका नेतासम्मको उल्लेखनीय उपस्थिति रहेको समितिले जनाएको छ।

बिहान ११:३० बजेबाट सुरु गरिएको प्रथम दिनको अनशनमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, उपप्रमुख शम्भु यादव, राजविराज नगरपालिकाकी कावा मेयर इसरत परविन, डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मुखिया, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव लगायतका जनप्रतिनिधि सहभागी भए।

साथै, राजविराज नगरपालिकाका निलम्बित मेयर भीमराज यादव र शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता पनि समर्थनसहित उपस्थित रहेका तयारी समितिका सदस्य जयनारायण यादवले जानकारी दिएका छन्।
संघर्ष समितिका संयोजक मोहन यादवका अनुसार राजविराजस्थित करदाता सेवा कार्यालयलाई खारेज वा अन्य कार्यालयमा गाभ्ने होइन, बरु उन्नति गरी यहीँ आन्तरिक राजस्व कार्यालयको रूपमा स्थापना गर्नुपर्ने मुख्य माग रहेको छ। सरकारको हालको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग राख्दै उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे।

हाल राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाता दर्ता छन्। गत आर्थिक वर्षमा यो कार्यालयले १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो। सरकारले देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवाहरू आन्तरिक राजस्व कार्यालयमार्फत प्रदान गर्ने नीति अघि बढाएको छ।







