जनकपुरधाम,२१ मंसिर। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई शपथ गराएका हुन्। यादवले आगामी मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
मंसिर १९ गते उनी काँग्रेस संसदीय दलका नेता रहेका यादव सात दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनको पक्षमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, तत्कालीन माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले समर्थन जनाएका छन्।

यसअघिका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेसतर्फ स्थानान्तरण भएको हो। सरोज यादव संविधानको धारा १६८(३) अनुसार ठूलो दलका नेता हैसियतमा कार्तिक २३ गते आधी राति मुख्यमन्त्री नियुक्त भएका थिए। सो नियुक्तिविरुद्ध सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेपछि, सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए।
सरकारको नेतृत्व पाएका नवनियुक्त मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।






