राजविराज, १३ मंसिर । करदाता सेवा कार्यालय राजविराजलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्धको आन्दोलन जारी राख्ने भएको छ। जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहको अध्यक्षतामा शनिबार बसेको सर्वपक्षीय बैठकले यसअघि सुरु गरिएको संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।

बैठकले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय र कार्यालय स्थानान्तरणको प्रक्रियाले स्थानीय करदातामा अन्योल र समस्या सिर्जना भएको भन्दै कार्यालयलाई यथावत राख्न माग पुनः दोहोर्‍यायो।

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नेता सूर्यनाथ यादव, जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झासहित जनप्रतिनिधि, विभिन्न दलका नेता, निर्माण व्यवसायी, उद्यमी तथा युवाहरूको उपस्थिति थियो।

यसअघि कार्तिक २२ देखि २७ गतेसम्म कार्यालय खारेजको विरोधमा हस्ताक्षर संकलन गरी अर्थमन्त्रीलाई बुझाइएको थियो। कार्तिक २८ गते गजेन्द्र चौकबाट मौन जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालयमार्फत संघीय अर्थमन्त्रीलाई हस्ताक्षरित ज्ञापनपत्रसमेत पठाइएको थियो।

माओवादी द्वन्द्वकालमा राजविराजमै रहेको आन्तरिक राजस्व कार्यालय लहान सराइएपछि २०७५ सालमा करदाता सेवा कार्यालय पुनःस्थापना गरिएको हो।
हाल राजविराज करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाता दर्ता छन्। कार्यालयले आव २०८१/८२ मा १ अर्ब राजस्व संकलन गरिसकेको छ भने २०८२/८३ का लागि १ अर्ब २५ लाख को लक्ष्य राखिएको छ। सरकारले तोकेको लक्ष्यभन्दा बढी राजस्व संकलन हुँदै आएको कार्यालयले जनाएको छ।

कार्यालयमा १ कार्यालय प्रमुख (अफिसर), १ सुब्बा, २ कम्प्युटर अपरेटर र ६ करार कर्मचारी गरी कुल १० जना कार्यरत छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी आगामी दिनमा आन्तरिक राजस्व कार्यालयमार्फत सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर