काठमाडौँ, मंसिर ११ — उच्च अदालत पाटनको आदेशमा पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

महरा गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ल्याइएका दुई सुटकेशमा भेप भित्र लुकाइएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका थिए।

अनुसन्धानले ८ करोड ५५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन अवैध रूपमा भित्र्याइएको निष्कर्ष निकालेको छ। यस प्रकरणमा भन्सार कर्मचारीसहित विभिन्न व्यक्तिहरूको संलग्नता रहेको प्रहरीले जनाएको छ।

महराबारे आरोप छ कि उनले उक्त सुन छुटाउन दबाब दिएका थिए। उनका छोरा राहुल महरा यसअघि नै पक्राउ परेर न्यायिक हिरासतमा रहेका छन्।

सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको र पछि सीआईबीलाई अनुसन्धानका लागि सिफारिस गरेको थियो। करिब दुई महिनाको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्षसहित मुद्दा दायर गरेको थियो।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई समेत मुद्दामा जोडिएको छ। प्रकरणबारे थप अनुसन्धान प्रक्रिया जारी रहेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर