काठमाडौँ — प्रहरीले पौने २० करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले महानगरपालिका–११, भद्रकाली क्षेत्रबाट २३ वर्षीय मोहम्मद सेफलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार बाराको कलैया नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१०, डल्लुमा बस्दै आएका सेफले १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रहरीले उनको साथबाट दुई वटा मोबाइल फोन बरामद गरेको छ। सेफलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत, काठमाडौँले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धाको अनुमति दिएको एसपी भट्टराईले जानकारी दिए।







