काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङको अगुवाइमा भरखरै खुलेको उज्यालो नेपाल पार्टीबीच एकताको प्रयास भइरहेको नेताहरूले बताएका छन्। निर्वाचन आयोगले दल दर्ता गर्न मंसिर १० गतेको समयसीमा तोकेकाले दुई नयाँ पार्टी एक ठाउँमा ल्याएर पुराना पार्टीलाई धक्का दिन अन्तिम कसरत भएको हो।
बाँकी एक दिनमा रास्वपा र उनेपालाई एउटै दलका रूपमा आयोगमा दर्ता गर्न अन्तिम कोसिस जारी रहेको दुवै पार्टीका नेताहरूले बताए। त्यसका लागि रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनालले वार्ता गरिरहेका छन्। यस्तै, उनेपाबाट प्रवक्ता सूर्य थापा, गणेश घिसिङ छलफलमा छन्। कुलमान घिसिङ आफैँले पनि संवाद गरिरहेका छन्।

‘अब बाँकी एक दिनमा ब्रेक थ्रु गर्न सकिन्छ कि भनेर लागेका छौँ,’ वार्तामा रहेका रास्वपाका एक नेताले भने, ‘कुलमानसँगै कुरा भइरहेको छ। सकारात्मक रूपमा जान्छ होला। काठमाडौँ महानगरमा मेयर बालेन्द्र शाहको टिमसँग पनि छलफल भइरहेको छ। दल दर्ताको दबाब छ। सकियो भने एउटै बनाएर जाने अहिलेको प्रयास हो।’
रास्वपासँग मिल्नको लागि कार्यकारी सभापतिको अडान राखेका घिसिङ लचक भएपछि मिल्ने सम्भावना बढेको अर्का सचिवालय सदस्य बताउँछन्।
‘अहिलेको प्रयास एकै ठाउँमा हुनको लागि गरिएको हो,’ उनले भने, ‘हामी स्वाभाविक रूपमा कुलमान घिसिङ लगायतसँग मिल्न चाहन्थ्यौँ। तर, मूल नेतृत्व मागेपछि कुरा नमिलेर रोकिएको हो। अहिले कुलमानजीहरू अस्तिभन्दा अलि लचक भएर प्रस्तुत हुनुभएको हो कि भन्ने लागेको छ।’
रास्वपाले घिसिङलाई कार्यकारी सभापति दिन अस्वीकार गरेपछि उनले पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा उज्यालो नेपाल पार्टी गठन गरेका थिए। सो दलले मंसिर ५ गते दल दर्ताको प्रमाणपत्र पाएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको साथ घिसिङलाई रहेको उज्यालो नेपाल पार्टीका नेताहरू दाबी गर्छन्। सोही आधारमा उनेपाले घिसिङलाई भावी प्रधानमन्त्री घोषित गर्दै चुनावमा होमिने निर्णय गरिसकेको छ।
उसले आक्रामक संगठन विस्तार थालिसकेको छ। सोमबार मात्र बागमती प्रदेश कमिटी बनाएको छ। उज्यालो पार्टीले बनाएको यो नै पहिलो प्रदेश संगठन हो, जहाँ कुलमान घिसिङको सबैभन्दा बढी प्रभाव रहेको मानिन्छ।
तर, बालेन्द्रका मुख्य सहयोगी कुमार बेनसहित केहीले रास्वपा र घिसिङसँग प्रत्यक्ष भेटवार्ता गर्दै मिलेर जान दबाब बढाएका थिए। रास्वपाको कार्यकारी सभापति पाए मात्र सहकार्य गर्ने अडान लिएका घिसिङलाई मध्यमार्गी प्रस्ताव राखिएको छ।
‘कुलमानलाई चुनावपछिको संसदीय दलको नेता भनेर जाऊँ, उहाँहरूको पक्षबाट र हाम्रो पक्षबाट टिकटमा हस्ताक्षर गरौँ, त्यसले विश्वसनीयता पनि बढाउँछ भन्ने मिलनविन्दुको प्रस्तावमाथि छलफल भइरहेको छ,’ रास्वपाका ती सचिवालय सदस्यले भने।
‘१० गतेसम्म टुंग्याउनुपर्ने दबाब छ भनेर साथीहरू लाग्नुभएको छ,’ उनले थपे।
त्यही भएर निरन्तर संवाद भइरहेको र बुधबार (मंसिर १०) दिनभर पनि प्रयास गरिने ती सचिवालय सदस्य बताउँछन्।
‘छलफल राम्रै स्पिरिटमा भइराखेको र पछिल्ला संवाद स्वर्णिम वाग्लेसँगै भइराखेकोले ब्रेक थ्रु होला कि भन्ने अपेक्षा छ,’ उनले भने।
उनेपाका एक नेताले घिसिङलाई भावी प्रधानमन्त्री बनाएर चुनावमा जान रास्वपा तयार भए पनि केही विषयमा समझदारी जुट्न बाँकी रहेको बताए।
‘एउटै पार्टी बनाउँदा चुनाव चिह्न घण्टी नै राख्ने कुरामा सहमति छ, नामका विषयमा उज्यालो नेपाल कहीँ कतै जोड्न सके राम्रो भन्ने मात्र हो,’ ती नेताले भने, ‘कसकसलाई जिम्मेवारी दिने? उम्मेदवार कसरी बनाउने? यो मिलाउनुपर्छ। एकदुई जनालाई व्यवस्थापन गरेर भएन। प्याकेजमै सहमति गर्नुपर्यो।’
उनेपाका नेताहरूबीच आन्तरिक छलफल हुँदा मिल्ने सम्भावना अधिक रहेको ब्रिफिङ भएको छ। प्रवक्ता सूर्य थापाले पनि एउटै दल बनाएर जानको लागि छलफल भए पनि परिणाम आइनसकेको बताए।
‘नयाँ सबै दल मिल्नुपर्छ र एउटै शक्ति बनाउनुपर्छ भनेर संवाद भइरहेको छ,’ उनले भने, ‘परिणाम आइसकेको छैन। राजनीतिक दलले चुनावमा भाग लिनको लागि दल दर्ता गर्नुपर्ने भएकोले समयको दबाब छ।’
सोमबार बेलुकासम्म धेरै विषयमा समझदारी भए पनि मंगलबार त्यसले निरन्तरता नपाउँदा एउटै दल बनाएर दर्ता गर्ने सम्भावना कमजोर बनेको उनको भनाइ छ।
‘अन्तिम अवस्थामा ब्रेक थ्रु हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन,’ उनले थपे, ‘किनकि, अन्तिम अवस्थामा आएर दबाब परेपछि निर्णय गर्ने हाम्रो चलन छ तर, अहिलेसम्म त्यस्तो उत्साहजनक कुरा आइसकेको छैन।’
रास्वपाका सचिवालय सदस्य शिशिर खनालले एकता हुन नसके चुनावमा उज्यालो नेपाल पार्टीसँग सहकार्य हुने बताए।
नाम, चुनाव चिह्न र नेतृत्वको विषय आफूले भनेजस्तो नभएपछि घिसिङसँगको सहकार्यबाट बाहिरिएकी सुमना श्रेष्ठ फेरि छलफलमा जुटेकी छन्। घिसिङ भेट्न श्रेष्ठ सोमबार बेलुका निवासमै पुगेकी थिइन्।
उनेपाका संगठन विभागको नेतृत्व गरिरहेका जीतराम वाइबाका अनुसार लामै छलफल भएको थियो।
‘लामै समय उहाँहरूबीच छलफल चल्यो,’ उनले भने, ‘नाम र चिह्नमा समस्या भएन, मिलेर जाने कुरामा सहमति जनाए पनि सुमना लगायत उहाँको टिमको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा निचोडमा पुगिएको छैन।’
उनेपाले विभिन्न दल र समूहसँग वार्ता गर्न डा तारा जोशीको नेतृत्वमा समिति बनाएको छ। त्यसबाहेक घिसिङ आफैँले रास्वपा, काठमाडौँका मेयर बालेन्द्र शाह लगायतसँग छलफल गरिरहेका छन्।
‘सीके राउतको जनमत, नागरिक उन्मुक्ति पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग सहकार्यको लागि पनि छलफल भइरहेको छ,’ जोशीले भने।






