बुटवल — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा मातहत युनिटका प्रहरी कर्मचारीलाई व्यावसायिकता, जवाफदेहिता र जनमैत्री सेवा प्रवर्द्धन गर्न निर्देशन दिएका छन्।
सुरक्षा मूल्यांकन तथा कार्यसमन्वयका क्रममा प्रदेश प्रहरी कार्यालयमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले अपराध नियन्त्रण, सुराकी संजाल सुदृढीकरण र द्रुत अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।


कार्कीले सीमावर्ती क्षेत्रको सुरक्षा चुनौती, बढ्दो साइबर अपराध, ट्राफिक व्यवस्थापन र नागरिकसँगको व्यवहार सुधारप्रति संस्थागत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे। उनले “प्रहरीप्रति जनविश्वास नै सबैभन्दा ठूलो शक्ति हो, त्यसलाई नतोड्न सतर्क रहनुपर्छ” भन्दै संयम, शुचिता र अनुशासन अवलम्बन गर्न अधीनस्थलाई आग्रह गरे।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख, विभिन्न जिल्लाका प्रहरी प्रमुख तथा सुरक्षा अधिकारीहरुको सहभागिता थियो। बैठकले आगामी दिनमा थप प्रभावकारी सुरक्षा सहकार्य, समुदाय–प्रहरी साझेदारी र तथ्याङ्क आधारित अपराध व्यवस्थापन अघि बढाइने जनाएको छ।








