काठमाण्डौ,९ मंसिर । गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहेका गृह मन्त्री ओमप्रकाश अर्यालले समसामयिक सुरक्षा चुनौती सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अनिवार्य हुने बताए।

गोष्ठीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान तथा प्रशासनिक निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सीमावर्ती क्षेत्रको सुरक्षा, बढ्दो आपराधिक क्रियाकलाप, मानव तस्करी, सवारी सुरक्षा, साइबर अपराध र निर्वाचनपूर्वको सुरक्षा तयारीबारे कार्ययोजना प्रस्तुत गरेका थिए।

गृह मन्त्री अर्यालले लुम्बिनी प्रदेश भौगोलिक, धार्मिक तथा पर्यटन दृष्टिले संवेदनशील भएकाले उच्च स्तरको सतर्कता आवश्यक रहेको उल्लेख गर्दै नागरिकको ज्यान–माल सुरक्षित राख्नु राज्यको पहिलो दायित्व भएको बताए। उनले अपराध नियन्त्रण, तथ्याङ्क आधारित सुरक्षा योजना र प्रविधिमैत्री सुरक्षात्मक संरचना विस्तार गर्न निर्देशन पनि दिए।

आयोजक मन्त्रालयका अनुसार गोष्ठीमार्फत प्रदेशभित्रका सुरक्षासम्बन्धी चुनौती पहिचान गरी साझा कार्यनीति बनाइनेछ। कार्यक्रमबाट प्राप्त सुझाव आगामी नीतिगत निर्णयमा उपयोग गरिने उल्लेख गरिएको छ।


कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर