काठमाडौँ,८ मंसिर । फागुन २१ गतेका लागि तोकिएको आम निर्वाचन नजिकिँदै जाँदा सुरक्षा अवस्थाप्रति मधेश र पहाड दुवैतर्फ चासो बढेको छ। निर्वाचनअघि नै सेना परिचालन सिफारिस भएपछि राजनीतिक बहस तीव्र बनेको छ भने जेनजी आन्दोलनका असर, हराइरहेका हतियार, फरार कैदी तथा एमालेको सम्भावित चुनावबहिष्कार रणनीतिले समग्र सुरक्षा व्यवस्थापन जटिल बनाएको विश्लेषकहरू बताउँछन्।

राष्ट्रिय सुरक्षा परिषद्ले हालै मन्त्रिपरिषद्का लागि सेना परिचालन सिफारिस गरेको छ। सामान्यतया चुनावको एक महिना अघिदेखि मात्र सेना परिचालन गरिँदै आएकोमा यसपटक तीन महिना अघि नै प्रक्रियामा लगेपछि यसको कारणबारे छलफल बढेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायमा परेको क्षति, हराएका हतियार तथा फरार कैदीहरूको जोखिमले सुरक्षा चुनौती गम्भीर भएको बताए। उनका अनुसार मधेशमा आन्दोलनपछिको असन्तोष र पहाडमा राजनीतिक ध्रुवीकरणले सुरक्षा संयन्त्रलाई सतर्क बनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका क्षमतामा परेको प्रभावलाई परिपूरण गर्ने उद्देश्यले सेना चाँडै परिचालित गरिनु उपयुक्त भएको सुरक्षा विज्ञ रमेश अधिकारीको भनाइ छ। “असामान्य परिस्थितिमा चाँडै सेना सक्रिय हुनु सुरक्षाको सुनिश्चितताका लागि आवश्यक हुन्छ,” उनले भने।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले चुनाव सुरक्षामा सेना तेस्रो तहमा बस्ने परम्परा रहेकाले यसपटक पनि अन्य सुरक्षा निकायसँग समन्वयमा काम गरिने बताए। उनका अनुसार मधेश–पहाडका संवेदनशील क्षेत्र पहिल्यै पहिचान भइसकेका छन्।

यसैबीच, एमाले नेतृत्वको एक हिस्साले ‘चुनाव बहिष्कार’का संकेतहरू दिएपछि कोशी प्रदेश , गण्डकी र मधेश प्रदेशमा राजनीतिक द्वन्द्वको जोखिम बढेको सुरक्षा विश्लेषकहरूको आकलन छ। गत हप्ता सिमरा विमानस्थल क्षेत्रमा एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच भएको झडपका कारण कर्फ्यू लगाउनुपरेको घटना सुरक्षा तयारीबारे थप प्रश्न उठाउने स्तरको देखिएको छ।
भूतपूर्व सुरक्षा विज्ञ प्रहलाद पोखरेल भन्छन्, “हतियार हराएको, कैदी फरार भएको र राजनीतिक प्रतिस्पर्धा असहज बनेको अवस्थामा निर्वाचन बिथोल्ने प्रयासहरू हुनसक्छन्। सरकार र सुरक्षा निकाय पूर्ण सतर्क हुनुपर्ने समय यही हो।”
सुरक्षा निकायहरूले संयुक्त कारबाहीमा केही हतियार फिर्ता आएको दाबी गरे पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन। विश्लेषकहरूको भनाइमा यस्ता चुनौतीलाई समयमै सम्बोधन गर्न सके चुनाव तोकिएकै समयमा सुरक्षित रूपमा सम्पन्न हुनेमा आशा गर्न सकिनेछ।







