रौतहट, ७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकारले प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।
जसपा नेपाल जिल्ला कार्य समिति रौतहटद्वारा दुर्गाभगवती गाउँपालिका–४ मा आयोजित पार्टी प्रवेश तथा भेलामा बोल्दै उनले फागुन २१ गते तोकिएको निर्वाचन नै अनिश्चित हुने अवस्था देखिएको बताए।

सरकारले प्रतिनिधिसभा विघटनपछि मिति घोषणा गरे पनि मतदाता निर्धक्क भएर मतदान स्थल पुग्ने माहोल बनाउन नसकिएको उनले टिप्पणी गरे। “सुरक्षा दिनुपर्ने प्रहरीको मनोबल गिराउने काम सरकारले गर्यो,” उनले भने, “मनोबल कमजोर पारिएको प्रहरीमार्फत चुनावको सुरक्षा कसरी सुनिश्चित हुन्छ ?”
सेना परिचालन गरेर भए पनि चुनाव गराउने सरकारको भनाइलाई उनले अलोकतान्त्रिक बताउँदै विश्वका कुनै लोकतान्त्रिक व्यवस्थामा सेना परिचालन गरी चुनाव नहुने दाबी गरे।
यादवले कांग्रेस र कम्युनिस्ट दलको ३५ वर्षको शासनकालमा देशले अपेक्षित प्रगति गर्न नसकेको आरोप पनि लगाए। त्यही कारण जेन–जी आन्दोलन जन्मिएको उनको भनाइ थियो। “भूटान जस्ता देशले ३५ वर्षमा गरिबी हटाएर विकासको बाटो समाए, हाम्रो देश भने झन् कमजोर बन्यो,” उनले भने।
आगामी निर्वाचनलाई मुलुकको भविष्य बदल्ने मोडका रूपमा चित्रण गर्दै यादवले कांग्रेस–कम्युनिस्ट गठबन्धनलाई पराजित गर्न आग्रह गरे। जसपालाई वैकल्पिक शक्ति दाबी गर्दै उनले आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण आफूहरूले गर्नसक्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न दल—नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमत, कांग्रेस, एमाले लगायतका संरचना छाडेर करिब ५ सय नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको पार्टीले जनाएको छ। अध्यक्ष यादवले नवप्रवेशीलाई टीका–माला लगाएर स्वागत गरे।
जसपा नेपाल रौतहटमा तीव्र रूपमा विस्तार भइरहेको दाबी गर्दै पार्टीले निर्वाचन समीकरणमा यसको प्रभाव बढ्ने मूल्यांकन गरेको छ।
कार्यक्रम जसपा नेपाल रौतहटका अध्यक्ष राजीव रंजन (राजू यादव) को अध्यक्षतामा सम्पन्न भयो। केन्द्रीय उपाध्यक्ष गोबिन्द चौधरी, राष्ट्रियसभा सदस्य पूजा चौधरी, पूर्व मन्त्रीहरू, प्रदेश सांसद तथा स्थानीय नेताहरूको सहभागिता उल्लेखनीय थियो।






