काठमाण्डौं,७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपाल आन्तरिक मतभेदका कारण पुनः विभाजनको संघारमा पुगेको छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट ७ प्रतिनिधिसभा सदस्य लिएर छुट्टिएको डेढ वर्षमै अशोक राइ नेतृत्वको जसपा भित्रै गम्भीर विवाद सतहमा आएको हो।
विचार मिल्ने दलसँग एकता वा सहकार्य गर्ने निर्णय गरेपछि पार्टीभित्र अन्तरविरोध चर्किएको हो। पार्टी एकताको जिम्मेवारी पाएको संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको वार्ता समितिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता गर्ने सहमति मिलेको दाबी गरेपछि विवाद खुल्न थाल्यो।

तर पार्टी अध्यक्ष अशोक राइले सामाजिक सञ्जालमार्फत वार्ता समितिका अभिव्यक्तिप्रतिको असन्तुष्टि सार्वजनिक गर्दै कुनै पार्टीसँग औपचारिक सहमति नभएको प्रस्ट पारेका छन्।
उनले लेखेका छन्— “जसपा र नेकपाबीच सबै कुरा मिलेर हस्ताक्षर मात्र बाँकी छ भन्ने अभिव्यक्तिले मेरो ध्यानाकर्षण भएको छ। पार्टीको औपचारिक बैठकमा छलफल र निर्णय नगरी मनलाग्दी रूपमा एकता हुन सक्दैन।”
राइले आधारविहीन प्रचारमार्फत पार्टीभित्र भ्रम सिर्जना नगर्न नेता–कार्यकर्तालाई आग्रह गर्दै “जान चाहनेका लागि बाटो खुला छ” भन्ने संकेतसमेत गरेका छन्।
यता संघीय परिषद् अध्यक्ष श्रेष्ठ भने नेकपा प्रवेशतर्फ दृढ मोडिएको भन्दै आलोচিত छन्। शनिबारको बैठकमा श्रेष्ठसँगै रेणु यादव पनि वार्ता समितिको तर्फबाट उपस्थित भए पनि अध्यक्ष राइ र महासचिव इस्तियाक राइनले निरन्तर प्रतिरोध गर्दै आएका छन्।
श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनेका छन्— अध्यक्षले बैठक नबोलाएकै कारण आफूले एकताको एजेन्डा आधिकारिक रूपमा प्रस्तुत गर्न नसकेको।
अध्यक्ष र संघीय अध्यक्षबीचको सार्वजनिक तानातानले जसपा पुनः विभाजनतर्फ उन्मुख भएको स्पष्ट बनेको छ।






