जनकपुरधाम, मंसिर ७ । मिथिलाञ्चलको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक परम्परासँग जोडिएको रामजानकी विवाह पञ्चमी महोत्सवलाई शान्त, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, धनुषाले विशेष सूचना जारी गरेको छ।
प्रशासनले जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्र तथा परिक्रमा सडक किनारमा मदिरा बिक्री–वितरण, पशुपन्छी काट्ने, माछा–मासुको बिक्री–वितरण तथा अन्य नसालु पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध लागू हुने जनाएको छ।
यो प्रतिबन्ध मंसिर ७ गते राति १२ बजेबाट मंसिर ९ गते राति १२ बजेसम्म लागू हुनेछ।

जिल्ला सुरक्षा समितिको निर्णयपछि जारी गरिएको सूचनामा प्रतिबन्धित गतिविधि गर्ने भेटिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
सर्वसाधारण, व्यवसायी तथा श्रद्धालुहरूले नियमको पालना गरी सहयोग गर्न आग्रह गर्दै प्रशासनले विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित, मर्यादित र भक्तिमय वातावरणमा मनाउनका लागि यो व्यवस्था गरिएको स्पष्ट पारेको छ।







