फायल तस्वीर

महोत्तरी, मंसिर ७ । प्राचीन मिथिला क्षेत्रका प्रमुख सांस्कृतिक उत्सवमध्ये एक रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’ विधिको तयारी सुरु गरिएको छ। बिहीबारदेखि जनकपुरधाममा साताव्यापी महोत्सव प्रारम्भ भएपछि विवाहपञ्चमीभन्दा एक दिनअघि गरिने परम्परागत ‘मटकोर’लाई लक्ष्मीनारायण मठले सोमबार सम्पन्न गर्ने तयारी गरेको हो।

यस वर्ष विवाहपञ्चमी मंसिर शुक्ल पञ्चमीका दिन मंगलबार परेकाले ‘मटकोर’ सोमबार मनाइनेछ। सातदिने महोत्सवअन्तर्गत नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भइसकेका छन्।

मटिहानीको लक्ष्मीनारायण मठ मिथिलाको प्रमुख नायक मठ मानिन्छ। लोकविश्वासअनुसार त्रेतायुगमा राम–सीताको विवाहका बेला यज्ञवेदीका लागि यही स्थानबाट माटो खनिएको थियो। त्यसैको स्मरणमा विवाहको एक दिनअघि ‘मटकोर’ मनाउने परम्परा स्थापित भएको मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन्।

उनका अनुसार मटकोरमा मटिहानीवासी तथा नेपाल–भारतका साधुसन्तहरूको उपस्थिति रहने गर्दछ। विधिअनुसार पवित्र स्थलबाट माटो खनेर वेदी, मण्डप र चुल्हो लिपपोत गर्न प्रयोग गरिन्छ। माटो खन्न जाने महिलाले भुस, बेसार, दही, फूल, चामल, पान, सुपारीलगायत पूजा सामग्रीसहित भूमि पूजन गर्ने परम्परा छ।

भूमि पूजनलाई पृथ्वीसँग अनुमति माग्ने धार्मिक प्रार्थनाको रूपमा लिइने बताइन्छ। यसरी ल्याइएको माटोले विवाह मण्डपदेखि देवस्थलसम्मको लिपाई गरिन्छ। मिथिलामा यी सबै विधि माङ्गलिक गीतसहित सम्पन्न हुने परम्परा छ।

मटकोरसँगै मटिहानीमा भारतबाट आउने साधुसन्तहरूको स्वागत, आवास र भोजन व्यवस्थापन पनि सुरु भएको छ। विवाहपञ्चमी अघिल्लो दिन भारतका विभिन्न क्षेत्रबाट आएका साधुसन्त यहीं बास बस्ने पुरानो परम्परा रहिआएको छ। भोलिपल्ट उनीहरू जलेश्वरनाथ महादेवको दर्शन गरेर जनकपुरस्थित रङ्गभूमि र विवाह मण्डपमा पुग्ने गर्छन्।

साताव्यापी विवाह महोत्सवमा क्रमशः नगर दर्शन, फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, स्वयम्वर तथा विवाह र अन्त्यमा रामकलेवा मनाइन्छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर