काठमाडौँ — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले मंसिर ७ गतेदेखि देशव्यापी आम हड्तालको घोषणा गरेको छ। महाअभियानले संयोजक दुर्गा प्रसाईको बिना शर्त रिहाइलगायत माग राख्दै बन्द कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गरिने जनाएको छ।
महाअभियानका केन्द्रीय सचिव प्रेम लिम्बु र प्रवक्ता माधव कल्पितले शनिबार प्रेस नोट सार्वजनिक गर्दै २७ बुँदे मागका विषयमा सरकार गम्भीर नबनेपछि आम हड्तालको विकल्प नबचेको बताएका छन्।

जारी गरिएको विज्ञप्तिमा उद्योग–व्यवसाय, कलाकारखाना, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रतिष्ठान, सार्वजनिक तथा निजी यातायातसहित सर्वसाधारण नागरिकलाई बन्दमा साथ दिन आग्रह गरिएको छ।
महाअभियानले बन्दलाई राष्ट्रिय, नागरिक तथा धार्मिक चेतना अभिवृद्धिका लागि ‘नागरिक स्तरबाट हुने शान्तिपूर्ण आन्दोलन’का रूपमा व्याख्या गरेको छ।
बन्दका क्रममा तोडफोड, आगजनी वा लुटपाटजस्ता गतिविधि नगर्न सम्बन्धित सबैलाई सचेत गराइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमको अवज्ञा वा असहयोगका कारण उत्पन्न हुने अवाञ्छित गतिविधिको जिम्मेवारी महाअभियानले लिने छैन।’
महाअभियानले संयोजक दुर्गा प्रसाईको रिहाइ, २७ बुँदे मागको समाधान र नागरिक तथा धार्मिक हकहित सम्बद्ध मुद्दामा सरकारलाई दबाब दिन हड्ताल आवश्यक भएको जनाएको छ।







