काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकबाट सो निर्णय गरेपछि नेकपा एमाले भने दबाबमा परेको छ । यसअघिसम्म निर्वाचनमा जाने/नजाने दोधारमा रहेको कांग्रेस अन्ततः निर्णय नै गरेर चुनावमा जाने भएको हो ।

कांग्रेस अनिर्णीत हुँदा फाइदा पुगेको एमालेलाई भने अब गाह्रो पर्ने देखिएको छ । शनिबार कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै एमालेलाई दबाब पर्ने देखिएको छ, यद्यपि एमालेले पनि खुलेरै निर्वाचनमा नजाने निर्णय भने गरिसकेको छैन । तर उसले आफ्नो सबैखाले बैठक तथा सभा-समारोहमा सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने बताउँदै आइरहेको छ ।

कांग्रेसले अन्य राजनीतिक दललाई पनि चुनावमा भाग लिन आह्वान गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलले उत्साहपूर्वक सहभागिता जनाउनुपर्ने कांग्रेको भनाइ छ ।

यता एमालेले निर्वाचनमा भाग नलिन मुख्य बहाना सुरक्षा कारण देखाइरहेको छ । जसका कारण चुनाव नै हुन सक्दैन भनिरहेको छ । एमालेको बागमती प्रदेश कमिटीले आज आयोजना गरेको जनसभामा बोल्ने एमालेका नेताहरूले पनि वर्तमान सरकारले चुनाव गराउनै नचाहेको आरोप लगाउँदै संसद् पुनर्स्थापनाको माग गरे ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतदेखि नै जनताले सुरक्षाको प्रत्याभूति नगरेका कारण चुनाव हुन नसक्ने बताउँदै आएका छन्। देशमा चुनाव गराउने वतावरण नै नभएको उनको भनाइ छ । ‘जेलबाट अपराधीहरू भागेका छन्, प्रहरीका हतियारहरू लुटिएका छन्, यस अवस्थामा चुनाव गराउन सम्भव छैन,’ उनको भनाइ छ ।

आज पनि काठमाडौँमा पार्टीले गरेको कार्यक्रममा ओलीले यही कुरा दोहोर्‍याएनन् मात्र, राजनीतिक दलहरूलाई चुनावमा नजान उक्साए । उनले दलहरूलाई भावनामा नबग्न र एकछिनलाई भ्रममा नपर्न आग्रह गरे । प्रतिशोधको भावनाले लोकतन्त्र जाँदा ताली पिट्न नहुने भन्दै उनले सबै राजनीतिक दलहरूलाई आग्रह, पूर्वाग्रहको हिसाबले नसोच्न र यो असंवैधानिक सरकारको पछिपछि जन्तीजस्तो नलाग्न आग्रह गरे ।

यता एमालेका नेता विष्णु रिजाल भने एमाले चुनावको विरोधमा नभएको बताएका छन् । तर देशमा चुनाव गराउने वतावरण नै नरहेको उनको भनाइ छ । ‘कांग्रेसले चुनावमा जाने निर्णय गरेको छ, त्यसको निर्णय गर्ने स्वतन्त्रता हो, त्यसमा एमालेले केही बोल्न मिल्दैन,’ उनले भने, ‘तर देशमा चुनाव गराउने वतावरण नै छैन, हामी स्पष्ट छौँ ।’

आफूहरूको बटमलाइन संसद् पुनर्स्थापना भएकाले जहाँबाट गल्ती भएको छ, त्यहीबाट सुधार गर्नुपर्ने धारणा रहेको उनको भनाइ छ । संसद पुनर्स्थापना गरेर मात्र चुनावमा जानु उपयुक्त हुने रटान लगाएका रिजालले एमालेका नेतामाथि अहिले चौतर्फी प्रहार भइरहेको समेत बताए । ‘पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नै उपत्यका बाहिर जान नदिइएको अवस्थामा चुनाव कसरी हुन्छ कसरी हुन्छ’, उनले प्रश्न पनि गरे ।

‘सरकारको लक्ष्य नै चुनाव गराउने छैन, चुनाव गराउने हो भने देशमा शान्ति सुरक्षा कायम गर्न सक्थ्यो,’ रिजालले भने, ‘तर वतावरण त्यस्तो देखिएन ।’

उनले चुनावको विषयमा एमालेले कांग्रेसलगायत अन्य दलहरूसँग पनि छलफल गर्ने बताए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर