काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले नेताहरुविरुद्ध बोलेको सुनिने क्यासेटबारे जवाफ माग गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले ‘कस्तो कस्तो मान्छेलाई विगतमा प्रधानन्यायाधीश र अहिले प्रधानमन्त्री बनेछन्’ भन्दै आक्रोश पोखे ।
‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले त्यो क्यासेट के हो बताउनुपर्छ ?’

जेनजी आन्दोलनकै बेला हेलिकप्टर उडेको देखिएकै बेला उक्त क्यासेटमा प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार अभिव्यक्ति सुनिएको उनको भनाइ छ ।
उनले भने, ‘सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने भन्ने पूर्वप्रधानन्यायाधीश र अहिले असंवैधानिक प्रधानमन्त्रीको आवाज सुनिन्छ, त्यो के हो ?’ त्यो क्यासेट बाहिर ल्याएकै कारण प्रसाईंलाई पक्राउ गरिएको ओलीको आरोप छ । ‘मान्छे गिरफतार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्छ’, ओलीको भनाइ थियो ।






