काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै देशव्यापी संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले मङ्सिर १० गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे मागपत्र बुझाउने तयारी गरेको महासचिव रामकुमार शर्माले जानकारी दिए।

दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण, आगामी चुनाव र संघर्षका कार्यक्रमहरू तय गरेको पार्टीले जनाएको छ। सोअनुसार मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर–बजारमा विरोध कार्यक्रम, कोणसभा तथा जनपरिचालन सञ्चालन हुनेछ। त्यस्तै मङ्सिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम छ।

पार्टीले मङ्सिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना गर्ने र त्यसपछि प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र भैरहवामा धरना तथा विरोधसभा आयोजना हुने तय भएको छ।

महासचिव शर्माका अनुसार जसपा नेपालले सुरुदेखि नै संविधान निर्माण प्रक्रियासँग असहमति जनाउँदै आएको र संविधान पुनर्लेखन तथा संशोधन आफ्नो मुख्य एजेन्डा रहेको छ। उनले भने,
“विगतका सरकारले हाम्रो मागतिर ध्यान दिएनन्। अहिलेको सरकारले संविधान पुनर्लेखन वा संशोधन प्रक्रिया अघि बढाओस् भन्ने हाम्रो माग हो, र त्यसका लागि हामी संघर्षमा उत्रिएका हौँ।”

पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति व्यवस्था, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश, समान जनसंख्या आधारमा निर्वाचन क्षेत्र निर्धारण, राज्य पुनर्संरचना लगायतका विषय संविधान संशोधनमार्फत समेटिनुपर्ने माग अघि सारेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर