काठमाडौं,५ मंसिर । भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान कारबाहीमा ढिलाइ भएको भन्दै जेन–जी आन्दोलनका समर्थक तथा घाइतेहरू आज(शुक्रवार)बिहानैदेखि राजधानीको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।

आन्दोलनकारीहरूले तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी महानिरीक्षक तथा घटनामा संलग्न अधिकारीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकार उदासीन बनेको आरोप लगाए।

जेन–जी अगुवाहरूले सरकार र सुरक्षा निकायले घटनाको २ महिना बितिसक्दा पनि कुनै ठोस कदम नचालेकाले ‘बाध्य भएर’ सडक संघर्षलाई निरन्तरता दिनुपरेको बताए। जेन–जीको बलिदानीबाट बनेको सरकारबाटै न्यायका लागि हात फैलाउनुपर्ने अवस्था आयो, यो विडम्बना हो,एक आन्दोलनकारीले भने।

आन्दोलनकर्ताहरूले भदौमा भएको जेनजी आन्दोलनमा ७५ जनाले ज्यान गुमाउँदा समेत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीको माग सम्बोधन नभएको भन्दै आक्रोश व्यक्त गरे। हाम्रो आन्दोलन केवल अर्को निर्वाचन गराउनका लागि होइन, मूलतः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली, भ्रष्टाचार अन्त्य, सुशासन कायम, देशभित्रै रोजगारी सिर्जना र सरकारी निकायमा देखिएका बेथितिको अन्त्यका लागि थियो, उनीहरूले बताए।

त्यसका लागि आन्दोलन अझै जारी रहने बताउँदै उनीहरूले सरकारलाई छिटोभन्दा छिटो सत्य–तथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर