काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन अस्वीकार गरेर प्रतिशील अभियान नेपाल बनाएका माओवादी केन्द्रका तत्कालीन उपमहासचिव जनार्दन शर्माको विद्यार्थी संगठनमा बलियो पकड थियो।
३२ वर्षे उम्मेदर हद लागू गरेर गत माघमा भएको चुनावमा अखिल (क्रान्तिकारी)का अध्यक्ष बाहेक अधिकांश पदाधिकारी शर्मा समूहले नै जितेको थियो। उपाध्यक्षतर्फ ९ जना उनकै समूहका थिए। महासचिव र अधिकांश उपमहासचिव पनि शर्मा समूहकै थिए।

तर, त्यही बलियो प्रभाव भएको संगठनबाट पनि जर्नादनलाई पर्याप्त साथ भने भएन। बिहीबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको पाँचौ पूर्णबैठकमा जनार्दनलाई ५ जनाले मात्रै साथ दिए।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड लगायतका नेताहरू उपस्थित भएको बैठकमा अधिकांश पदाधिकारी उपस्थित थिए। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ३३ सदस्यीय पदाधिकारीमा ५ जना मात्रै अनुपस्थित रहेर शर्मातिर खुलेका छन्।
उपाध्यक्ष सन्दीप पुन, महासचिव रोशन थापामगर, उपमहासचिवहरू निर्मला गौतम र जटिल कार्की तथा सचिव सम्झना राई मात्रै शर्मा समूहतिर खुलेका छन्।
आजको बैठकमा केन्द्रीय आयोगका पदाधिकारीलाई पनि पदेन पदाधिकारीका रुपमा बोलाइएको थियो।
शर्मा समूहबाट निर्वाचित भएका उपाध्यक्षहरू ममता अधिकारी, कृष्णबहादुर सुनार, उमेश कँडेल र अभिमन्यू यादवले उनलाई साथ दिएनन्।
त्यस्तै उपमहासचिवहरू निरोज गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी र रामचन्द्र भट्टले पनि शर्मालाई साथ दिएनन्।






